काठमाडौं - मोरङ प्रहरीले प्रतिबन्धित औषधिको कारोबार गर्ने फार्मेसी सञ्‍चालकलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको सइ (प्रहरी नायव निरीक्षक) प्रवीण खड्का नेतृत्वको टोली र प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले संयुक्त रूपमा बूढीगंगा गाउँपालिका–६ कोयलपुरस्थित जनसेवा मेडिकल नामक फार्मेसीमा शुक्रबार दिउँसो १ बजे छापा मारेर सञ्‍चालक बूढीगंगा–६ की ५१ वर्षीया गेनावती चौधरीलाई पक्राउ गरेको हो ।

फार्मेसीबाट प्रेगाबलिन क्याप्सुल ३ सय २० ट्याब्लेट, स्पासरेट १ सय ५२, ट्रमाडोल ३ सय ९ र डिकोलिक २ सय ११ ट्याब्लेट बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार नेपालमा प्रयोगमा प्रतिबन्ध लगाइएका औषधिको कारोबार फार्मेसीबाट हुने गरेको पाइएको छ । 

प्रतिबन्धित औषधिसहित फार्मेसीबाट ७ हजार ३ सय रूपैयाँ प्रहरीले बरामद गरेको छ । प्रतिबन्धित औषधिको कारोबार गर्ने गरेको पाइएपछि फार्मेसी सञ्चालक महिलालाई पक्राउ गरिएको डीएसपी बस्नेतले बताए । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी डीएसपी बस्नेतले दिए ।