काठमाडौं - सौर्य एयरलायन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव आफन्तलाई हस्तान्तरण गर्न थालिएको छ। पोस्टमार्टमका लागि महाराजगन्जस्थित शिक्षण अस्पतालमा राखिएको शवहरू शुक्रबार आफन्तलाई दिन थालिएको हो।
पोस्टमार्टमका आवश्यक प्रक्रिया पूरा भएपछि शवहरू आफन्तलाई हस्तान्तरण गर्न थालिएको हो। पहिलो चरणमा ५ जनाको शव आफन्तको जिम्मा लगाइएको छ। प्रक्रिया मिलेसम्म केहीको आजै र बाँकी भोलि शव आफन्तको जिम्मा लगाइने शिक्षण अस्पतालले जानकारी दिएको छ।
बुधबार बिहान ११:११ बजे सौर्य एयरलायन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो। पाइलट मनिष शाक्यको भने जिवितै उद्धार गरिएको थियो। उनको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ।
शवहरू जलेका कारण ४ घन्टासम्म लगाएर पोस्टमार्टम गरिएको शिक्षण अस्पतालका फोरेन्सिक विभाग प्रमुख गोपाल चौधरीले बताएका थिए।
पीडित परिवारलाई कम्पनीले सकेको सहयोग गर्छ
सौर्य एयरलाइन्सले विमान दुर्घटनामा परेका परिवारलाई सहयोग गर्ने जनाएको छ।
‘पीडित परिवारजनलाई कम्पनीको तर्फबाट हुन सक्नेसम्मको सहयोग, साथ र सद्भाव सधैं रहने विश्वास दिलाउँछौ। सौर्य एयरलाइन्सको व्यावसायिक विकास र विश्वसनीयता आर्जनका लागि उहाँहरूले निष्ठापूर्वक पुर्याउनु भएको साथ, सहयोग र योगदानको उच्च कदर गर्दै यस संस्थाले सधैँ जीवन्त एवं चिर स्मरणीय इतिहासका रूपमा संरक्षण गर्ने विश्वास व्यक्त गर्दछौं’, विज्ञप्तिमा भनिएको छ।
कम्पनीको स्थापनाकालदेखि एउटै परिवारका रूपमा रही काम गर्दै आएका व्यक्तिहरूको अकल्पनीय जहाज दुर्घटनामा परी दिवंगत भएको भन्दै कम्पनीले यति धेरै विज्ञहरुको क्षतिको कल्पना नै गर्न नसकिने जनाएको छ। कम्पनीले दुर्घटनामा परी घाइते भएका क्याप्टेन मनिष शाक्यको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।


0 comment