काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसहित गृहमन्त्री रमेश लेखक र पर्यटन मन्त्री बद्री पाण्डेले दुर्घटनास्थल पुगेर विमान दुर्घटनाबारे जानकारी लिएका छन्।
उद्धार काम सकिएपछि दुर्घटनास्थल निरीक्षणका लागि प्रधानमन्त्री ओलीसहितको टोली पुगेका हुन् । उनीहरु जहाज दुर्घटनामा परी घाइते भएका पाइलट मनिष शाक्यको अवस्था बुझ्न अस्पताल जाँदैछन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा पाइलट र को पाइलटसहित १९ जना सवार रहेका थिए। नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जना मृत्यु भएको पुष्टि गरेको छ।
बु्धबार बिहान एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु र एक जना घाइते भएको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्तिमार्फत जानकारी दिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘बुधबारका दिन सौर्य एयरलाईन्सको CRJ7 (Reg 9NAME) जहाज काठमाडौंबाट स्थानिय समय अनुसार बिहान ११:११ मा पोखरा उडानको क्रममा उड्ने बितिकै दाहिने तिर मोडिन गई रनवेको पूर्व तिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको, तत्कालै उद्धार कार्य शुरु गरी आगो नियन्त्रणमा लिई १८ जनाको शव संकलन गरिएको तथा १ जना घाईतेलाई उद्धार गरि अस्पताल पुऱ्याईको जानकारी गराईन्छ।’
नागरिक उड्यन प्राधिकरण स्रोतका अनुसार विमानमा पाइलट मनिष शाक्य र को-पाइलट एस कटवाल रहेका थिए। त्यसैगरी जहाजमा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अस्बिन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासैनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिज्जा खतिवडा ,अधिराज शर्मा, उद्वव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पून्यरत्न शाही र अर्का विदेशी नागरिक Aref Reda सवार रहेका थिए। विमानमा सवार सबै सौर्य एयरलाइन्सका कर्मचारी हुन्।
दुर्घटनापछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उद्दारको काम सकिएपछि विमानस्थल सञ्चालनमा आएको छ।

0 comment