काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १९ जनाको मृत्यु भएको छ।
क्यानका प्रवक्ता हंशराज पाण्डेले जहाज दुर्घटनामा १९ जनाको शव भेटिएको जानकारी दिए। उनले जहाज दुर्घटनामा घाइते पाइलट मनिष शाक्यको उद्दार गरी उपचारका लागि अस्पताल पठाइएको बताए।
दुर्घटनामा परेकाहरू यात्रु वा कर्मचारी को हुन् एकिन भएको छैन। पाइलटलाई उद्दार गरेर उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पताल पठाइएको छ।'
सूचना अधिकारी ज्ञानेन्द्र भूलले मर्मतका लागि पोखरा उडेको जहाज दुर्घटनामा परेको पुष्टि गरे। उनले भने,' जहाजमा १९ जना सवार थिए।'
बुधबार बिहान मर्मतका लागि काठमाडौंबाट पोखरा उड्ने क्रममा जहाज दुर्घटनामा परेको थियो। धावन मार्गबाट पाँच सयको फिटको उचाइमा पुगेको जहाजलाई देव्रेतिर मोड्ने क्रममा दुर्घटना भएको हो।
दुर्घटनाका कारण विमानस्थल बन्द भएपछि काठमाडौं अवतरण गर्न लागेका विमानहरूलाई भैरहवातर्फ डाइभर्ट गरिएको छ ।
त्रिभुवन विमानस्थल बन्द हुँदा उडान अवतरण प्रभावित भएका छ । अवतरण गर्न लागेका केही अन्तराष्ट्रिय विमानहरू भारतीय आकाशमा ‘होल्ड’ भएका छन् ।


0 comment