काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले रुसी महिला भलिबल टोलीसँग भेटवार्ता गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको भेटमा प्रधानमन्त्री ओलीले नेपालले सोभियत सङ्घकालदेखि नै रुसबाट शिक्षा र यातायात जस्ता क्षेत्रमा महत्त्वपूर्ण सहयोग प्राप्त गर्दै आएको स्मरण गराए। प्रधानमन्त्री ओलीले नेपाल र रुसबीचको ऐतिहासिक सम्बन्धलाई पुनः ताजगीकरण गर्नुपर्ने समेत बताए।

उनले खेलकुदमा रुसको वर्चस्वको प्रशंसा गर्दै दुई देशबीचको मैत्रीपूर्ण भलिबल खेललाई सकारात्मक संकेतको रूपमा लिनुपर्ने धारणा राखे। 

प्रधानमन्त्री ओलीले रुसको प्रसिद्ध सर्कस र नेपालको मौलिक नृत्य संस्कृतिको आदानप्रदानलाई निरन्तरता दिनुपर्नेमा समेत जोड दिए।