काठमाडौंं – दुई ठुला दलको गठबन्धनले देशमा सुशासन कायम गर्न नसकेमा थप अस्थिरता निम्तिने खतरा हुने भन्दै आज राष्ट्रिय मातृभूमि पार्टीले पे्रश विज्ञप्ती निकालेको छ । राष्ट्रिय मातृभूमि पार्टीकोे उक्त विज्ञप्तीमा भनिएको छ, वि.सं. २०४७ देखि करिब ३५ वर्षसम्म लगातार सत्ताको चास्नीमा रमाइरहेका तथा भ्रष्टाचार र कुशासनको आहालमा डुबुल्की मारिरहेका संसदका दुई ठुला दलको गठबन्धनमा बनेको सरकारको गठनको स्वरुप र प्रवृत्तिगत परिदृष्य हेर्दा नेपाली जनता सुशासन कायम हुने कुरामा विश्वस्त हुन नसकी सशंकित भएको अवस्था छ ।

समान राजनीतिक विचारधारा, दर्शन र कार्यक्रममा प्रतिबद्ध व्यक्तिहरुले दल गठन, दर्ता र सन्चालन गर्न सक्ने र मतदानको माध्यमबाट अगाडि आएको दलले सरकार बनाउने प्रचलन विपरीत सत्तामा गएर भ्रष्टाचार गर्न जोसंग, जहां र जहिलेसुकै सत्ता सहकार्य गर्ने प्रवृत्तिले संसदीय व्यवस्था, बहुदलीय आदर्श, मान्यता र आचरणको खिल्ली उडाएको छ ।

संसदको प्रमुख दल र प्रमुख विपक्षी दल दुबै सत्तामा ढलीमली गर्ने भएपछि संसदीय संघिय व्यवस्थामा दलको सशक्त, संवैधानिक जिम्मेवारी कसले लिने ? साथै, यी दलले मन्त्रीमण्डलमा आफ्ना गुटका मान्छे समेट्दा सक्षम र योग्य हुंदाहुंदै पनि महिला, दलित वर्गको यथार्थ प्रतिनिधित्व नगराउनुले हामीले जे गरेपनि हुन्छ भन्ने दम्भ समेत शीर्ष नेतृत्वमा प्रकट भएको देखिन्छ ।    

नेपालमा पनि कुनै अमूक देशमा जस्तै दुई दलको व्यवस्था भएमा देश समृद्धशाली बन्नेछ भन्ने भ्रष्टाचारमुखी विश्लेषण पनि सत्तासीनहरुको हनिमूनको यस समयमा सुनिन आएको छ, जुन आफैमा हांस्यास्पद छ । यिनीहरुले प्रचार गरेजस्तै अमूक देशका दुई ठुला दल एकै पटक सत्तामा जांदैनन् तथा एउटाले सरकार चलाउंदा अर्को प्रतिपक्षमा रहेको हुन्छ र हाल यी दुई सहित अनेकौं दल त्यहां विद्यमान छन् भन्नेसम्म पनि यिनीहरुलाई जानकारी नहुनु विडंबनाको विषय हो ।

त्यसैले, यस्ता दलको सत्तामा टासिने भ्रष्ट प्रवृत्ति अनुरुप जनतालाई दिग्भ्रमित बनाई विदेशीको चाकरी र स्वार्थमा आफू निरन्तर सत्तामा टिकिरहने, जनताको थाप्लोमा धान्नै नसक्ने थप ऋण बोकाई आफू र आफ्ना समूहले देश लुटिरहने, घ्यू खाइरहने र जनतालाई संधैभरि अभाव, बेरोजगारी र गरीबीमा राख्ने आशयका यस्ता कुप्रचार र धूर्त कृयाकलापको विरोध गर्दै यिनीहरुले भविष्यमा गर्न सक्ने राष्ट्रघाती, जनतामारा गतिविधिको नेपाली जनताजनार्दनको साथ समर्थनमा भण्डाफोर गर्ने प्रण गर्दछौ ।