काठमाडौं - नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार मनसुन सुरु भएयता (जेठ २८ गतेदेखि यता) २२ जनाको चट्याङबाट ज्यान गएको छ भने ३५ जना घाइते भएका छन्।
प्रहरीका अनुसार मनसुन सुरु भएयता चट्याङको विपद् पनि बढिरहेको छ। प्रायः पानी पर्ने, गड्याङगुडुङ गर्ने र इन्द्रेणी लागेको समयमा चट्याङ बढी पर्ने गरेको छ। विगत एक वर्षमा चट्याङ लागेर ५१ जनाले ज्यान गुमाए। २२५ जना चट्याङको कारण घाइते भएका छन्।
काम गर्दा गर्दै होस् या आँगन पिँढीमा बसिरहेकै बेलामा किन नहोस्, एक्कासि आकाशबाट आएको चट्याङमा परेर सर्वसाधारणले ज्यान गुमाइरहेका छन्।
गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डिजन भट्टराईका अनुसार चट्याङबाट हुने मानवीय क्षति बढिरहेको छ। उनी भन्छन्, 'चट्याङ रोकथाम गर्न नसकिए पनि यसबाट हुने क्षति कम गर्न प्राधिकरणले काम गरिरहेको छ। यो विषयमा डिटेल अध्ययन अनुसन्धान गर्न आवश्यक भएकाले प्राधिकरणले छिट्टै नै अध्ययन सुरु गर्ने बताए। उनका अनुसार चट्याङबाट मृत्यु भएकालाई निश्चित क्षतिपूर्ति र घाइतेले उपचार खर्च स्वरूप केही राहत दिने व्यवस्था रहेको छ।
सामान्यतया चट्याङ चैत महिना सुरु भएपछि बढी पर्ने गर्छ। प्रायः मनसुन सुरु हुनु अघिको समयमा चट्याङ बढी पर्ने गरेको पाइए पनि योपटक मनसुन सँगसंगै यस्ता घटना बढी भए। मनसुन सुरु हुनुअघि प्रायः दिउँसो २ बजेपछि चट्याङ बढी पर्ने गरेको पाइन्छ भने मनसुन सुरु भइसकेपछि पानी पर्नुअघि र परिसकेपछि पनि चट्याङ परेको देखिएको छ। मनसुनमा बादल सधैंभरि नै भइरहने हुँदा कतिबेला पर्न सक्छ पूर्वअनुमान गर्न सकिन्न।
हरेक वर्ष चट्याङकै कारण सयौं जनाले ज्यान गुमाउँछन्। पछिल्लो २-३ वर्षमा मृत्यु हुनेको संख्या कम र घाइते बढी भएका छन्। मनसुन पूर्व, मनसुनपश्चात् भदौमा र असार साउनमा पनि तुलनात्मक रुपमा चट्याङ बढी पर्छ।
नेपालमा दक्षिण पूर्वी भूभाग झापा, मोरङमा बढी चट्याङ पर्छ। चुरेवेल्ट पनि जोखिमपूर्ण छ। नारायणीको किनार र तनहुँ एरियामा तुलनात्मकरूपमा चट्याङ बढी पर्ने गरेको छ। तराईका भूभाग पनि जोखिमपूर्ण छन्। तराई र बीचको जोड्ने भूभागहरू खतराको जोनमा छन्। पहाडी भूभागमा दिउँसोको समय र तराई भूभागमा साझ बिहानको समयमा बढी चट्याङ पर्ने गर्छ।
चट्याङलाई न्यूनीकरण गर्न नसकिएपनी र यसको क्षति कम गर्ने विषयमा सरकारले तयारी गर्नुपर्ने देखिन्छ।


0 comment