काठमाडौं - नवनियुक्त गृहमन्त्री रमेश लेखकले इमान्दारीपूर्वक काम गर्ने बताएका छन्। सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै गृहमन्त्री लेखकले राजनीतिक स्थिरता, भ्रष्टाचार नियन्त्रण र अर्थतन्त्रलाई चलायमान बनाएर सरकार अघि बढ्ने बताए।
'यो सरकारको प्रमुख उद्देश्य नै राजनीतिक स्थिरता, भ्रष्टाचार नियन्त्रण, अर्थतन्त्र उकास्ने र संविधानको समीक्षा र मूल्यांकन गर्ने भन्ने हो,' उनले भने, 'संविधानको मूल तत्त्वलाई बलियो र सुदृढ बनाउनका निम्ति समीक्षा गर्ने सरकारको प्राथमिकता हो।'
उनले देशमा विधिको शासन, शान्ति व्यवस्था र अपराध नियन्त्रण गर्ने कुरामा आफ्नो काम केन्द्रित रहने बताए। त्यस्तै विपद् व्यवस्थापनका लागि पनि सरकारले उचित ढंगले सम्बोधन गर्दै लैजाने उनको भनाइ छ।
'अहिले प्राकृतिक प्रकोपका कारणले जनधनको क्षति भएको छ। यसलाई उचित ढंगले सम्बोधन गर्दै जानुपर्छ। मैले यसै विषयमा पहिलो निर्णयसमेत गरेको छु,' उनले भने।


0 comment