काठमाडौं - मोरङ प्रहरीले कारमा राखेर ठूलो परिमाणमा लागूऔषध गाँजा ओसारपसार गर्ने ३ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा कार चालक मोरङको केराबारी गाउँपालिका–५ का ३६ वर्षीय सुरेश लिम्बू, धनकुटाको साँगुरीगढी गाउँपालिका–२ का ३४ वर्षीय सुभाष नोयोहाङ र सुनसरीको धरान उपमहानगरपालिका–१३ की ४२ वर्षीया लक्ष्मी राई विक रहेका छन् । 

विराटनगर महानगरपालिका–४ इक्राहीस्थित भित्री सडक खण्डमा बा ६ च ४६८९ नम्बरको कारबाट १ सय २ किलोग्राम गाँजा बरामद गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए। 

कारमा राखेर लागूऔषध गाँजा ओसारपसार भइरहेको सूचना आउनसाथ नियन्त्रणमा लिन एसपी कार्कीले विशेष टोली परिचालन गरेका थिए। प्रहरीले कार नियन्त्रणमा लिएर खानतलासी गर्दा डिकीमा राखेर ल्याउँदै गरेको अवस्थामा गाँजा फेला परेको थियो। 

पक्राउ परेकाहरुसहित बरामद भएको गाँजा र नियन्त्रणमा लिइएको कारलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको उनले बताए। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी कार्कीले दिए।