काठमाडौं ।
काठमाडौं महानगरपालिकालाई न्युरोडको फुटपाथ विस्तार गर्ने बाटो खुलेको छ । न्युरोडको फुटपाथ विस्तार गर्ने क्रममा महानगर र डिभिजन सडक कार्यालयबीच खटपट भएको थियो । फुटपाथको मापदण्ड अनुसार काठमाडौं महानगरपालिकाले न्युरोडको फुटपाथ विस्तार गर्न खोज्दा डिभिजन सडक कार्यालयले रोक लगाएको थियो । फुटपाथ विस्तारका क्रममा महानगरले सडकको कालोपत्रे समेत भत्काइसकेको अवस्थामा डिभिजन सडक कार्यालयले रोकेर भत्काएको सडक पुन कालोपत्रे गरेको थियो । महानगरको फुटपाथ विस्तार गर्ने योजनामा सडक कार्यालयको हस्तक्षेप भएपछि महानगरले अदालत गुहारेको थियो । डिभिजन सडक कार्यालयले फुटपाथ विस्तार योजना महानगरको जिम्मेवारीमा नरहेको र नियमसंगत नभएको भन्दै रोक लगाउने निर्णय गरेको थियो ।
उक्त निर्णय विरुद्ध महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो । उक्त रिटमा सुनुवाई गर्दै उच्च अदालत पाटनले सार्वजनिक सडक ऐन २०३१ मा २०७५ फागुन १९ मा गरेको संशोधन अनुसार न्यूरोडको सडक शहरी सडकमा पर्ने उल्लेख गरेको छ । शहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै उच्च अदालतले न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएको छ ।
काठमाडौं महानगरपालिकाका कानुनी सल्लाहकार ओमप्रकाश अर्यालले उच्च अदालतको आदेशको स्वागत गर्दै आदेशसँगै सडक डिभिजनको अवरोध अब निस्तेज भएको बताए ।
‘महानगरले न्युरोडमा काम गर्दा भौतिक रुपमै आएर सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेको थियो, त्यसो नगर्न भनेका थियौं,’ उनले भने, ‘आजबाट सडक डिभिजनको हस्तक्षेप निस्तेज भएको छ । अब महानगरले आफ्नो काम यही आदेशको सम्मान गर्दै अघि बढाउँछ ।’


0 comment