काठमाडौं - नारायणघाट मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाउँदा दुईवटा यात्रुवाहक बस त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६५ जना रहेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।
यादवका अनुसार शुक्रबार बिहान ३:३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेको हो।
प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । उनले भने, 'हामी घटनास्थलमा छौँ । पानी परिरहेकाले छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ ।' उनले ती बसमा रहेका यात्रुको यकिन विवरण प्राप्त भइ नसकेको बताए।
तीन जना सकुशल भेटिएको चितवन प्रहरी प्रवक्ता डिएसपी भेशराज रिजालले बताए। उनका अनुसार पानी परेकोले उद्धारमा कठिनाइ भएको छ। अहिले मुग्लिन नारायणघाट सडकमा सवारी आवागमन रोकिएको छ। भरतपुरबाट सिमलताल करिब २० किलोमिटरको दुरीमा पर्छ।
उद्धारकार्यका लागि घटनास्थल जाँदै गरेकाका सशत्र बलको विपद व्यवस्थापन टोली पहिरोले गर्दा बाटैमा फसेका छन्। उनीहरु कुरिनटारस्थित कालीखोलाको पहिरोले घटनास्थल पुग्न कठीन भएको प्रहरीले जनाएको छ।


0 comment