काठमाडौं - अविरल वर्षापछि पहिरो जाँदा गए राति कास्कीमा पहिरोमा परेर एकै परिवारका ७ जनाको मृत्यु भएको छ। 

पहिरोमा परेर पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटका ४७ वर्षीय कुलबहादुर परियारको घर पहिरोले पुर्दा एकै परिवारका सात जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए। पहिरोमा परेर कुलबहादुरसहित उनकी आमा ८५ वर्षीया लक्षिमा, पत्नी ४३ वर्षीया मनकुमारी, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र छोरी राधिका परियारको मृत्यु भएको हो। 

प्रहरीका अनुसार हिजो राती लगभग सवा १० बजे  कुलबहादुर परियारको घरमा पहिरो खसेको थियो। घटनामा दुई जनाको सकुशल उद्धार गरिएको जनाइएको छ। 

यसैगरी पोखरा–३२ मा चैनपुरमा आरती ओझाको घर पहिरोले पुरिँदा १८ वर्षीया अनिता ओझा र नौ वर्षीय प्रतीक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ। ११ वर्षीया अनुस्का ओझा बेपत्ता छन्। मादी गाउँपालिका–११ मा पहिरोमा पुरिएर ८० वर्षीया माइतीकुमारी गुरुङ पनि बेपत्ता भएको खोजी भइरहेको प्रहरीले जनाएको छ। पहिरोमा परेका ओमबहादुर गुरुङलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक शर्माले पहिरोमा परेर मृत्यु भएका सबैको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको जानकारी दिए। पहिरोमा बेपत्ताको खोजी भइरहेको बताइन्छ।