काठमाडौं - निरन्तरको वर्षाका कारण देशका विभिन्न भागमा बढीपहिराले भौतिक संरचनामा क्षति भएको छ भने सडक अवरुद्ध हुँदा यातायातका साधन बाटोमा नै रोकिएका छन् । 

लमजुङ, दाङ, चितवन, वाग्लुङ, पर्वत र उदयपुरका विभिन्न सडक अवरुद्ध भएका छन् । 

पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध

पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ स्थित झोलुङ्गु पुल र सिमलतालमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक डिभिजनसँगको समन्वयमा पहिरो पन्छाएर सवारीसाधन सञ्चालनको प्रयास जारी छ ।

पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन

पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–३ मौवाखोला नजिक खसेको पहिरो पन्छाएर सडक एकतर्फी खुलाइएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार वर्षा नरोकिएकाले ठाउँठाउँमा पहिरो खसिरहेको छ ।  सडक दुईतर्फी खुलाउन अझै केही समय लाग्ने छ । यसैबीच, स्थानीय प्रशासनले अत्यावश्यक काम बाहेक यो सडकबाट यात्रा अनुरोध गरेको छ ।

मालढुङ्गा–बेनी सडक अवरुद्ध 

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गत पर्वतको  मालढुङ्गा–बेनी सडक अवरुद्ध भएको छ । गएरातिको भारी वर्षाका कारण तीन ठाउँमा खसेको पहिरोले सडक अवरुद्ध बनेको हो । मालढुङ्गादेखि बेनी सम्मको १३ किलोमिटर लामो बाटोको कुश्मा नगरपालिका– १ मालढुङ्गा नजिकै भिरवाट ढिस्को सहितको पहरो खसको छ । त्यसैगरी जलजला गाउँपलिका–८ स्थित फनफनेमा पनि सडक अवरुद्ध भएको हो ।

गाईघाट– दिक्तेल सडक अवरुद्ध

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका– १४ को रातमाटे डाँडामा पहिरो खस्दा गाईघाट दिक्तेल सडक अवरुद्ध भएको छ । बुधबार अपराह्नदेखि उक्त सडक अवरुद्ध भएको हो । एम्बुलेन्सलागयत अत्यावश्यक सवारीका साधन सञ्चालन गराउने प्रयास जारी छ । जिल्ला प्रशासन कार्यलय,त्रियुगा नगरपालिका र गाईघाट –दिक्तेल सडक कार्यलयले एकीकृत प्रयास गरिरहेका छन् 

मध्यपहाडी राजमार्ग बन्द

पहिरोका कारण मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । बागलुङको काठेखोला गाउँपालिका–६ बयलडाँडास्थित सडकमा पहिरो खस्दा मध्यपहाडी पुष्पलाल राजमार्ग बन्द भएको जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरी प्रहरी उपरिक्षक ऋषिराम कँडेलले जानकारी दिए। 

बेँसीसहर–चामे सडक बन्द

लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडक दश दिनदेखि बन्द छ । बाढीले मनाङको चामे गाउँपालिका–१ तिमाङखोलाको पक्की  पुल बगाएपछि उक्त सडकमा सवारीसाधन सञ्चालन भएका छैनन् । विसं २०७८ असार महिनामा आएको बाढीले बेलिब्रिज बगाएपछि तिमाङखोलामा काठेपुल राखेर सवारी सञ्चालन हुँदै आएको थियो । दुईवर्षअघि त्यहाँ मोटरेवल पक्की पुल निर्माण गरिएको थियो । 

घोराही–तुलसीपुर सडक अवरुद्ध

बाढीका कारण घोराही–तुलसीपुर र घोराही सडक पनि अवरुद्ध भएको छ । पुल निर्माण जारी रहेको घोराही–तुलसीपुर खण्डमा गरिएको पथान्तरण बाढीमा बगेपछि उक्त सडक बन्द भएको हो ।  

सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीको अनुरोध

नेपाल प्रहरीले मनसुनी वर्षा जारी रहेको र देशका विभिन्न क्षेत्रमा राजमार्गमा अवरोध भइरहेकाले बुझेर मात्रै लामो यात्रामा निस्किन अनुरोध गरेको छ ।  केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले यात्रुहरू बीच बाटोमै अलपत्र हुने अवस्था देखिएकाले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणमा अनुरोध गरिएको बताएका हुन्।

प्रहरीका अनुसार मनसुनका कारण अविरल वर्षापछि विभिन्न स्थानमा आएको बाढी तथा पहिरोले सडक अवरुद्ध भएको ठाउँठाउँमा भत्किएका, भासिएकाले दर्जनौँ सडक अझै खुलेको छैन । वर्षा जारी रहेकाले थप अवरोधको सम्भावना कायमै हुँदा विशेष ख्याल गर्न प्रहरीले नागरिकहरूसँग आग्रह गरेको छ ।

अवरोध नभएका राजमार्गमा पनि यातायात चापका कारण जाम भइरहेकाले सकेसम्म यस्तो अवस्थामा यात्रा नगर्न र यात्रा गरिहाले पनि जानकारी लिएर मात्रै निस्किन भनेको कार्कीले बताए। 'मनसुन र अविरल वर्षाका कारण बाढी र पहिराले विभिन्न स्थानमा सडक अवरुद्ध रहेको र सम्बद्ध अन्य निकायको सहयोगमा प्रहरीले बाटो खुलाउने प्रयास गरिरहेकाले लामो यात्रामा निस्किनुपूर्व नजिकका प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध छ,'प्रहरीले सार्वजनिक गरेको सूचनामा भनिएको छ।

प्रहरीले नेपाल प्रहरीको १००, ट्राफिक प्रहरीको १०३, बालबालिका खोजतलास समन्वय केन्द्रको १०४ र प्रहरी गुनासाका लागि १११३ नम्बरमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।