काठमाडौं - सशस्त्र प्रहरी बल मोरङका प्रमुख, एसपी विश्व खड्का छानबिनका लागि हेडक्वार्टर तानिएका छन्। 

नेपाल–भारत सीमा क्षेत्रमा तस्कर समूहसँग साँठगाँठ गरेर अवैध असुली गरेको आरोप उनीमाथि लागेको छ। साथै, भन्सार छली गरेर नेपाल भित्राइएका अवैध सामान नियन्त्रणमा लिने र पैसा लिएर छाड्ने गरेको आरोप पनि उनीमाथि लागेको छ। एसपी खड्का सशस्त्र प्रहरी प्रमुखको जिम्मेवारी पाएर २०८० फागुन पहिलो साता मोरङ हाजिर भएका थिए।

सशस्त्र प्रहरी बल उच्च स्रोतका अनुसार नेपाल–भारत सीमा क्षेत्रबाट तस्करीको लाइन चलाएर अवैध असुली गरिरहेको पाइएपछि छानबिन एवं अनुसन्धानका लागि खड्कालाई बिहीबार काठमाडौंस्थित हेडक्वार्टर तानिएको हो। सशस्त्र प्रहरी बलका प्रवक्ता, डीआईजी कुमार न्यौपानेले आन्तरिक हिसाबले केही कुरा बुझ्नुपर्ने भएकाले एसपी खड्कालाई हेडक्वार्टर झिकाइएको जानकारी दिए। 

आईजीपी राजु अर्यालकै निर्देशनमा खड्कालाई काठमाडौं तानेर आवश्यक अनुसन्धानको प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी बलका प्रवक्ता, डीआईजी कुमार न्यौपानेले बताए। डीआईजी न्यौपानेका अनुसार तस्करीलगायतका अवैध धन्दा नियन्त्रणमा लिन र कारबाही गर्न मातहतका युनिटलाई आईजीपी अर्यालले स्पष्ट निर्देशन दिएका छन्। ‘आईजीपी साबले अवैध धन्दा नरोकेमा र तस्करको समूहसँग मिलेमतो गरेमा कारबाही गर्छु भनेर स्पष्ट निर्देशन दिनु भएको छ। पछिल्लो समयमा निर्देशनको पालना भयो कि भएन भनेर बुझ्नुपर्ने भयो,’ उनले भने। 

न्यौपानेले खड्काले गलत गरेको पाइएमा कारबाही गरिने जानकारी दिए। उनले मोरङमा सशस्त्र प्रहरी प्रमुख बनाएर अर्कै एसपीलाई पठाउने कि खड्कालाई नै फिर्ता गर्ने भन्ने बारेमा टुंगो लाग्न बाँकी रहेको जनाए। 

लगभग १ महिनाअघि भारतबाट गाडीमा तस्करी गरेर ल्याएको चिनी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो। भन्सार छली गरेर ल्याइएको उक्त चिनी विराटनगरका व्यापारी विनोद केशरीको थियो। बरामद गरिएको चिनी र नियन्त्रणमा लिएको गाडी एसपी खड्काले कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाउनुपर्ने थियो। तर, केशरीसँग मोटो रकम लिएर त्यत्तिकै छाडिदिएको स्रोतले बतायो। किराना सामानको व्यापार गर्ने केशरीले अहिले सशस्त्रसँग मिलेर तस्करीको धन्दा चलाइरहेको स्रोतको दाबी छ।

‘मोरङ आएयता अवैध धन्दा गरिरहेको समूहसँग खड्काको सम्बन्ध राम्रो थियो,’ स्रोतले भन्यो, ‘लाइन चलाउन सहयोग गरिदिएवापत तस्करीमा संलग्नबाट उनले मोटो रकम बुझ्ने गरेका थिए।’ 

स्रोतका अनुसार पछिल्लो समय संगठनकै बदनाम हुने हिसाबले चल्न थालेपछि एसपी खड्का हेडक्वार्टको निगरानीमा थिए। ‘गलत काम गरेको केही न केही प्रमाण भेटिएकै कारण उनलाई काठमाडौं झिकाइएको हो,’ सशस्त्रको उच्च स्रोतले भन्यो, ‘थप छानबिन, अनुसन्धान र कारबाही हेडक्वार्टरले नै गर्छ।’ स्रोतका अनुसार एसपी खड्काले असुलीका लागि सहायक हवल्दार ओमप्रकाश श्रेष्ठलगायतका सशस्त्रलाई घुमुवा बनाएर खटाएका थिए। श्रेष्ठ अहिले पनि घुमुवा बनेर नै हिँडिरहेका छन्। 
स्रोतका अनुसार सशस्त्रको मिलेमतोमा गाईगोरु, मटर, चाइनिज स्याउ, सुपारीलगायत नेपालबाट भारततर्फ तस्करी हुने गरेको छ। भारतबाट धान, गहुँलगायतका खाद्यान्नका परिकार, किराना सामान, लत्ताकपडा, गाडीका पार्टपूर्जा, हार्डवेयरका सामानलागयत भन्सार छली गरेर नेपाल भित्राउने गरिएको छ। 

सशस्त्रको साथ पाएपछि भारतसँग खुला सीमा रहेका कोशी प्रदेशका झापा, सुनसरी र मोरङमा पछिल्लो समय तस्करी बढेको छ। सशस्त्र प्रहरी बल कोशी प्रदेशको प्रमुखका रूपमा डीआईजी अन्जनीकुमार पोखरेल हुँदा संस्थागत रूपमा हुने गरेको तस्करी ठप्प थियो। तर, सशस्त्रको प्रदेश प्रमुखमा डीआईजी शम्भु सुवेदी आएपछि वैशाखयता तस्करीको लाइन चालु भएको छ। खुलेआम तस्करी भइरहेको छ। जसको असर राजस्व संकलनमा परिरहेको भन्सारका अधिकारीहरू बताउँछन्। 

‘तस्करी रोक्नुपर्ने निकाय नै अवैध धन्दा चलाउनेहरूसँग मिलिरहेको पाइन्छ। अहिले सीमा क्षेत्रबाट व्यापक मात्रामा तस्करी भइरहेको छ,’ सीमा क्षेत्रका एक जना वडाध्यक्षले भने, ‘रोक्नका लागि पटकपटक हामीले आग्रह गर्दा पनि बेवास्ता गरिन्छ। यसले मिलेमतोमै काम भइरहेको प्रष्ट हुन्छ।’ उनले सशस्त्र, भन्सार, राजस्व अनुसन्धानलगायतका निकायको ‘सेटिङ’मा तस्करीले प्रसय पाउँदा त्यसको असर राज्यलाई पर्ने बताए। 

एसपी खड्काले भने लाइन चलाएको कुरा अस्वीकार गर्दै आफू बिदामा रहेको बताए।