काठमाडौं - सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका –४ मा रहेको इलेक्ट्रिक हाइड्रो पावरको ढलान भत्किँदा दुईजना मजदूर पुरिएका छन् भने अन्य १० जना घाइते भएका छन् ।
शुक्रबार दिउँसो २ बजे हाइड्रो पावरको ड्यामसाइडमा रहेको सुरुङ ढलान गर्ने क्रममा ढलान भासिएको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले जनाए ।
सो घटनामा घाइते भएका १० जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ । घटनामा ठाकुरबावा नगरपालिका– ३ का ३० वर्षीय रामदिन थारु र सोही नगरपालिका ५ का ३० वर्षीय सुमन थारु ढलानले पुरिएर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
त्यस्तै नाम थर नखुलेको दुईजना पुरुषहरू ढलानमा च्यापिएको हुँदा उद्दार कार्य भइरहेको प्रहरीको भनाइ छ । उद्दार गरिएका १० जनालाई भने उपचारको लागि अस्पताल लगिएको छ । उद्दार गरिएकामध्ये सामान्य घाइतेलाई बाह्रबिसे प्राथमिक स्वाथ्य केन्द्र र गम्भीर घाइतेलाई धुलिखेल अस्पताल लगिएको छ ।
घाइतेहरूको उद्दारका लागि इलाका प्रहरी कार्यालय कोदारी र बाह्रबिसेबाट प्रहरी निरीक्षकको कमाण्डमा २० जना, सशस्त्र प्रहरीबाट १५ जना र नेपाल आर्मीको १५ जना खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हाइड्रो पावरको ड्यामसाइडमा रहेको सुरुङ ढलान गर्दागर्दै भत्किएको हो ।
४० मेगावाट क्षमताको उक्त जलविद्युत आयोजनाको गत साउनदेखि निर्माण सुरू भएको हो।


0 comment