काठमाडौं । 
कान्तिपुर दैनिक पत्रिकाका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले कार्यालयबाट नै पक्राउ गरेको छ । थापाथलीस्थित कान्तिपुर पब्लिकेशनस्को कार्यालयबाट ठूलो संख्यामा प्रहरी परिचालन गरी अध्यक्ष सिरोशियालाई पक्राउ गरिएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईको टोलीले सिरोहियालाई पक्राउ गरेको हो । 
सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता भएको थियो । नागरिकता प्रकरणमा अनुसन्धानका लागि भन्दै प्रहरीले जिल्ला अदालतमा सिरोहिया विरुद्ध पक्राउ पुर्जी माग गरेको थियो । प्रहरीले अनुरोध गरेपछि जिल्ला अदालत धनुषाले पुर्जी जारी गरेको थियो । उक्त प्रक्रियालाई रोक्न सिरोहियाले सर्वोच्च अदालतमा रिटसमेत दायर गरेका थिए । रिटमा पक्राउ पुर्जी जारी हुनुपर्ने कारण नै नभएको दाबी गरिएको थियो । 
पक्राउ पर्नु अघि सिरोहियाले एक विज्ञप्ति जारी गर्दै कानुनअनुसार हुने हरेक अनुसन्धानमा पूर्ण सहयोग गर्न आफू एक जिम्मेवार नागरिकका रूपमा तयार रहेको कुरा जनाएका थिए ।
अध्यक्ष सिरोहियाले आफू कुनैपनि हालतमा व्यक्तिगत रूपमा हरेक मूल्य चुकाउन तयार रहेको प्रस्ट पारेका छन् । तर कान्तिपुर आफ्नो सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा सम्झौता कहिलै गर्न तयार नरहेको उनको भनाइ थियो ।  सिरोहियालाई पक्राउ गर्ने क्रममा कान्तिपुर कार्यालयमा सञ्चारकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो । केही सञ्चारकर्मीहरुले सिरोहियालाई पक्राउ गर्दा नाराबाजी समेत गरेका थिए । अध्यक्ष सिरोहियाको पक्राउ आम सञ्चार क्षेत्रमाथीकै आक्रमण हो भनिएको छ । प्रेस स्वतन्त्रताको ठाडो हस्तक्षेपका रुपमा सिरोहियाको पक्राउ हो भन्दै नाराबाजी भएको थियो । सिरोहियालाई पक्रने क्रममा थापाथलीको ट्राफिक व्यवस्थापन केही समय अस्तव्यस्तसमेत भएको थियो ।