सुनसरी - इटहरी उपमहानगरपालिका वडा नम्बर १६ स्थित  सरस्वती जब्दी माध्यमिक विद्यालय जब्दीमा ‘चेतना बाल क्लब २०८१’ गठन गरिएको छ । ४ गते शुक्रबार विद्यालयमा एक भव्य कार्यक्रमको आयोजना गरी विद्यालयमा चेतना बालक्लबको निर्वाचन सम्पन्न गरिएको हो । 

जसमा बाल क्लबको अध्यक्षमा प्रवेश खतिवडा, उपाध्यक्षमा दिनेश राई, सचिवमा एलिशा थकाली, सहसचिवमा आयुष पुर्कोटी र कोषाध्यक्षमा शारदा तिम्सिना निर्वाचित भएका थिए । त्यसैगरी सदस्यहरुमा सनिया राई, युनिषा खत्री, युनिक तामाङ, तुलसा खड्का, रश्मी कार्की र कबिब अधिकारीलाई चयन गरिएको निर्वाचन अधिकृत भगवती खतिवडाले जानकारी गराउनु भयो । 

चेतना बाल क्लबको ११ सदस्यीय समिति चयनका लागि विभिन्न कक्षाबाट ३३ जनाको उमेदवारी परको थियो । निर्वाचनमा २०३ जना विद्यार्थीहरुले मतदानमा भाग लिएको कुरा प्रधानाध्यापक मात्रिका प्र. भट्टराईले बताउनुभयो । 

अन्य निर्वाचन कै झल्को दिने गरी सम्पन्न उक्त निर्वाचनमा बालबालिकाहरुलाई निर्वाचन सम्बन्धि व्यबहारिक ज्ञान दिने उद्देश्यले निर्वाचन मार्फत् क्लब गठन गरिएको प्रअ.भट्टराईले जानकारी दिनुभयो ।

निर्वाचनका लागि सम्पूर्ण प्रक्रिया पुरा गरी विद्यार्थीलाई निर्वाचनमा भाग लिन लगाउँदा निष्पक्ष रुपमा स्कुल क्याप्टेन, कक्षा मनिटर विभिन्न क्लबहरु निर्माण लगायतको छनौटमा पनि सघाउ पुग्ने, विद्यार्थीमा जिम्मेवारीको भावना बढ्ने, अनुशासित हुने, सामाजिक कार्यक्रमहरुमा सहभागिता बढ्ने गरेको अनुभव प्रअ मात्रिका भट्टराईको भनाइ थियो । 

‘विद्यालयको शैक्षिक वातावरण राम्रो भएकै कारण पहिलेपहिले विद्यालयबाट कतिबेला घर जाऊँ भन्ने विद्यार्थी आजभोलि घर जानभन्दा विद्यालयको वतावरणमा रमाउन र पढ्न पाउँदा निकै खुसी छन् ।’ निर्वाचनमा खटिएका एक शिक्षकले बताउनुभयो । 

चर्को घामको कुनै पर्वाह नगरी विद्यालयको चौरमा लामबद्ध भएर निर्वाचनमा भाग लिन उभिएका विद्यार्थीहरु निर्वाचनबाट आफ्ना प्रतिनिधिको छनौट गर्न पाउँदा निकै रमाइलो मानिरहेको निर्वाचनमा सहभागी छात्रा प्रविशा चौधरीले बताइन् । 

इटहरी उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरु मध्येकै उत्कृष्ट मानिने यस सरस्वती जब्दी माध्यमिक विद्यालयले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि, पठनपाठनमा सुधार, अनुशासन र शैक्षिक वातावरण बनाउन विद्यालयमा बाल क्लव तथा विभिन्न समितीहरु गठन गर्ने गरेको छ ।