काठमाडौं । 
राष्ट्रपति रामचन्द्र पौडेलद्धारा संघीय संसदमा आर्थिक वर्ष 20८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । प्रतिपक्ष दल नेपाली कांग्रेसले गृहमन्त्री तथा उपप्रधानमन्त्री रवि लामिछानेमाथी सहकारी प्रकरणमा संसदीय छानविन समिति बनाउन माग गर्दै निरन्तर रुपमा संसद अवरुद्ध भइरहेको छ । सरकारले आजको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिएको अवस्थामा राष्ट्रपति कार्यालयबाट भएपनि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको थियो । तर नीति तथा कार्यक्रम प्रस्तुतका लागि कांग्रेस लचिलो भएपछि संसद भवनबाट नीति तथा कार्यक्रम प्रस्तुत भएको हो । सरकारले गरेको नीति तथा कार्यक्रममा विभिन्न टिकाटिपणीहरु पनि भएका छन । नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पूरानै ढर्राको आएको र खासै नयाँ कार्यक्रम केही पनि नभएको प्रतिक्रिया दिएको छ भने सत्तानिकट दलको प्रतिक्रिया भने नीति तथा कार्यक्रम नयाँ भएको र यसले जनतामा आसाको किरण छरेको रहेको छ । नीति तथा कार्यक्रमको केही महत्वपूर्ण बूँदाहरु प्रस्तुत गरिएको छ । 

१ अब आन्तरिक ऋणको प्रयोग यी कार्यमा मात्रै हुने 

सरकारले आन्तरिक ऋणको प्रयोग व्यवस्थित गर्ने नीति लागू गर्ने भएको छ । सार्वजनिक ऋणको विवेकपूर्ण छनौट गरी अधिकतम प्रतिफल प्राप्त हुने क्षेत्रमा परिचालन गरिने भएको छ । आन्तरिक ऋण उपयोग पुँजी निर्माण तथा उत्पादनको क्षेत्रमा मात्र गरिने कुरा पनि उल्लेख गरिएको छ । 

२. घरेलु मदिरा ब्रान्डिङ गरिने भएको छ । 

सरकारले घरेलु मदिरा ब्रान्डिङ गरी विश्व बजारमा निर्यात गर्ने नीति लिएको छ । घरेलु मदिराको गुणस्तर सुनिश्चित गरी नियन्त्रित उत्पादन र ब्रान्डिङ गर्न विशेष कार्यक्रम सञ्चालन गरिने भएको छ । सरकारले घरेलु मदिरालाई बैधानिकता नदिएको अवस्थामा यो कार्यक्रमले राहत दिएको छ । 
३ सहकारी व्यवस्थापनका लागि चार वटा संस्था स्थापना गरिने भएको छ । 

सहकारी संस्थाहरूमा देखिएको समस्या समाधानका लागि सरकारले विभिन्न संस्था स्थापना गर्ने भएको नीति लिएको छ । विशेषगरी सहकारी संस्थाको सघन नियमन र सुपरिवेक्षणका लागि विशिष्टिकृत नियामक निकाय स्थापना गरिने भएको छ । सहकारी बचत तथा कर्जा सुरक्षण कोष, सहकारी कर्जा सूचना केन्द्र, सहकारी कर्जा असुली न्यायाधीकरण स्थापनामार्फत् बचत तथा लगानीको सुरक्षा गरिने कुरा पनि उल्लेख गरिएको छ । 


४. एक हजार युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा दिने व्यवस्था गरिएको छ । 
आगामी आर्थिक वर्षमा एक हजार युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा दिइने भएको छ । तीनै तहका सरकारका साथै निजी क्षेत्रको सहकार्यमा राष्ट्रिय स्टार्टअप उद्यम नीति कार्यान्वयन गरिने भएको हो ।
स्टार्टअप व्यवसायको विकास र प्रवर्द्धन गर्न प्राज्ञिक संस्थाहरूसँग सहकार्य गरिने सरकारको नीति छ । निजी क्षेत्र समेतको सहभागितामा सातै प्रदेशमा बिजनेस इन्कुबेसन सेन्टर स्थापना गरी स्टार्टअपको विकास र प्रवर्द्धन गरिने भएको छ । 
५. व्यापार लागत कम गर्न भारतको आन्तरिक जलमार्ग प्रयोग गरिने भएको छ । 

सरकारले भारतको आन्तरिक जलमार्ग प्रयोग गरी व्यापार लागत कम गर्न पहल गर्ने योजना बनाएको छ । जलमार्गबाट समुद्रसम्मको पहुँच र एकीकृत जाँच चौकीका पूर्वाधार तथा सुविधा विस्तार गर्ने नीति लिएको छ भने बहुविधिक ढुवानी माध्यमबाट अन्तर्राष्ट्रिय व्यापारको लागत घटाइने  भएको छ । 

६. काठमाडौंको उत्तरी क्षेत्रमा नयाँ नगर बनाइने भएको छ । 

स्थानीय तह र निजी क्षेत्रको सहकार्यमा काठमाडौंको उत्तर क्षेत्रमा नयाँ नगर निर्माण काम अगाडि बढाइने कुरा नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । काठमाडौं उपत्यकाको विस्तृत गुरूयोजनाको प्रभावकारी कार्यान्वयन गरिने कुरा पनि उल्लेख गरिएको छ । 

७. बञ्चरे डाँडामा फोहोर व्यवस्थापन गर्न अधिकार सम्पन्न संयन्त्रको स्थापना गरिने भएको छ । 
बञ्चरे डाँडा ल्यान्डफिल क्षेत्रको फोहोर व्यवस्थापनका लागि प्रभावित क्षेत्रका सरोकारवाला समेतको सहभागितामा अधिकार सम्पन्न संयन्त्रको स्थापना गरिने कुरा पनि उल्लेख छ । 

 

८.निजी क्षेत्रले जग्गा विकास सञ्चालन गर्न सक्ने भएको छ । 
निजी क्षेत्रले जग्गा विकास सञ्चालन गर्न सक्ने नीति व्यवस्था गरिने भएको छ । 
सरकारले नगर विकास कोषको पुनर्संरचना गरी सह–लगानीमा सहरी पूर्वाधार निर्माण गर्ने समेत लक्ष्य छ । भू–सूचनामा आधारित सहरी पूर्वाधार सूचक तयार गर्ने, देशैभर भू–सूचनामा आधारित ठेगाना प्रणाली लागू गरिने भएको छ । 

९. सरकारी र निजी शैक्षिक संस्थाका शिक्षक तथा कर्मचारी राजनीतिक दलको सदस्य हुन नपाउने
सरकारले सरकारी तथा निजी शैक्षिक संस्थामा काम गर्नेहरूलाई राजनीतिक दलको सदस्यता लिन नपाउने गरी कानुनी रूपमै व्यवस्था गर्ने भएको छ ।
‘सरकारी सामुदायिक तथा संस्थागत शैक्षिक संस्थामा कार्यरत प्राध्यापक, शिक्षक वा कर्मचारीले राजनीतिक दलको सदस्य हुन नपाउने कानुनी व्यवस्थाको पूर्ण कार्यान्वयन गरिनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ । 

१०. सरकारी सेवामा टाइम कार्ड लागू गर्ने । 
सरकारले सरकारी सेवामा टाइम काड लागू गर्ने भएको छ। सरकारी सेवा प्रभावकारी बनाउन टोकन कार्ड तथा टाइम कार्ड प्रणाली लागू गरिने भएको हो । 
संघीय निजामती कानुन यथाशीघ्र कार्यन्वयनमा ल्याई निजामती सेवा प्रभावकारी बनाइने छ । 

 

११. त्रिवि क्रिकेट मैदानको स्तरोन्नती गरिने भएको छ । 
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको स्तरोन्नती गरिने भएको छ। यसअघि सरकारले मैदानमा फ्लड लाइट जोड्ने प्रक्रिया अघि बढाए पनि अहिलेसम्म पूर्णता पाएको भने छैन । 
काठमाडौंको मूलपानी, मोरङको बैजनाथपुरस्थित गिरिजाप्रसाद क्रिकेट मैदान र कैलालीको फाप्ला क्रिकेट मैदान निर्माण तिव्रताका साथ अघि बढाइने कुरा पनि उल्लेख गरिएको छ । 

१२. कृषियोग्य भूमिको संरक्षण गरिने भएको छ । 
सरकारले कृषियोग्य भूमि संरक्षण गर्ने भएको छ । कृषियोग्य भूमि संरक्षण गरी नदी, किनार, सहितका बाँझो तथा नदी उकास जग्गा सदुपयोग एवं चक्लाबन्दी गरिने सरकारको नीति छ । छरिएर रहेका कृषि भूमि एकिकरण गरी सामूहिक खेती, करार खेती, एवं सहकारी खेतीको प्रवर्द्धन गरिने छ । कृषियोग्य जमिनमा व्यावसायिक कृषिको विकास गरी निजी क्षेत्रको सहकार्यमा खाद्य प्रशोधन उद्योग स्थापना गरिने छ । 

१३. कृषिमा लगानी दशक घोषणा गरिने, कृषि तथा पशुपंक्षीजन्य उत्पादन निर्यातमा सहुलियत
सरकारले आर्थिक वर्ष २०८१/८२ देखि कृषिमा लगानी दशक घोषणा गर्ने भएको छ । निजी सहकारी तथा विकास साझेदारको लगानी पनि वृद्धि गरिने भएको छ । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि आधुनिकीकरण व्यावसायीकरण एवम् बजारीकरणको स्पष्ट मार्गचित्र तय गरी कार्यान्वयनमा ल्याइने छ। उत्पादनदेखि बजारीकरणसम्मको कृषि पर्यापरण सुधार कार्ययोजना कार्यान्वयन गरिने सरकारको नीति छ । 

१४. पर्यटन क्षेत्रका कार्यक्रमको पुनर्संरचना गरिने

पर्यटन क्षेत्रका कार्यक्रमहरू पुनर्संरचना गरिने भएको छ । पर्यटकीय वस्तुको विकास, बजारीकरण र सहज पहुँचको व्यवस्थापन गरी नेपाललाई प्राथमिक र आकर्षित गन्तव्यको रूपमा विकास गरिने छ । साथै राष्ट्रिय पर्यटकीय गन्तव्य प्रोफाइल तयार गरी पर्यटकीय गन्तव्यको पहिचान, विकास र प्रवर्द्धन गरिने छ ।
१५. पर्वतारोहण अनुमति प्रणालीलाई स्वचालित बनाइने, अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न विशेष प्रोत्साहन प्याकेज सरकारले पर्वतारोहण अनुमति प्रणाली स्वचालित बनाउने भएको छ । हवाई नीति र कानुनमा समसामयिक सुधार गरिने छ । हवाई सेवा थप सुरक्षित सुलभ र पहुँच योग्य बनाउने सरकारको योजना छ ।

१६. गरिबीको रेखामुनि रहेका परिवारलाई विद्युतीय चुलो र ट्युबवेल उपलब्ध गराइने भएको छ । सरकारले गरिबीको रेखामुनि रहेका परिवारलाई विद्युतीय चुलो र ट्युबवेल लगायत सामग्री उपलब्ध गराउने नीति अघि सारेको छ । गरिब घर–परिवार पहिचान गरेर उनीहरूको स्थानीय तहमार्फत निःशुल्क बीमा पनि गरिने छ । 


१७. उत्पादन र रोजगारीको लागि साझेदारी कार्यक्रम सञ्चालन गरिने भएको छ । 
सरकारले ठूलो मात्रामा रोजगारी सिर्जना गर्न आगामी वर्ष नयाँ कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । उत्पादन र रोजगारीका लागि साझेदारी कार्यक्रम सञ्चालन गरिने छ । यस्ता कार्यक्रममा निजी क्षेत्रका साथै तीनै तहका सरकारबीच समन्वय गरिने छ ।

१८. रणनीतिक तथा व्यापारिक महत्त्वका सडक निर्माणमा जोड
सरकारले रणनीतिक तथा व्यापारिक महत्त्व बोकेका सडक निर्माण र स्तरोन्नतीमा जोड दिने भएको छ । पूर्वाधार विकासमा रहेको दोहोरोपन हटाइ भौगोलिक तथा प्रादेशिक सन्तुलन कायम गरिने छ ।

 

१९. औद्योगिक उत्पादनमा प्रदूषण नियन्त्रण प्रमाणपत्र दिइने भएको छ । 
सरकारले औद्योगिक उत्पादनमा प्रदूषण नियन्त्रण प्रमाण पत्र दिने व्यवस्था लागू गर्ने भएको छ । प्रमुख सहरहरूमा प्रदूषण मापन गर्ने व्यवस्था थप प्रभावकारी पनि बनाइने भएको छ ।