काठमाडौं ।
एम्नेष्टी इन्टरनेशनलले शुक्रबार ललितपुरमा सार्वजनिक गरेको प्रतिवेदनमा जातीय विभेद हटाउन सरकार असफल भएको निष्कर्ष निकालेको छ । संस्थाले कसैलाई मतलब छैन दलित विरुद्ध वंशमा आधारित विभेद सार्वजनिक गरेको हो ।
दलित महिला तथा बालिकाहरूलाई जातका आधारमा गरिने विभेदबाट संरक्षण प्रदान गर्न सरकार तथा सरोकारवाला पक्ष असफल भएको उल्लेख गरिएको छ ।
प्रतिवेदनका अनुसार छुवाछुत र जातीय विभेद तथा अन्य गम्भीर अपराधलाई निषेधित र अपराधीकरण गरिएको भएपनि दण्डहीनता नै नियम बनेको छ । जातिय विभेद तथा छुवाछुतविरूद्धको ऐनमा रहेको अपर्याप्त कानुनी हदम्याद, न्याय प्रणालीमा दलित समुदायको प्रतिनिधित्वको अभावका कारण गर्दा दलित समुदाय विशेषगरी दलित बालबालिका विभेदमा पर्ने गरेको औल्याइएको छ । प्रभावकारी अनुगमन संयन्त्र र जवाफदेहीताको अभावले गर्दा दण्डहीनता व्याप्त रहेको छ । प्रतिवेदन सार्वजनिकमा बोल्दै एम्नेस्टी इन्टरनेसनलको लैङ्गिकता, जातिय न्याय, आप्रवासी तथा शरणार्थी कार्यक्रम निर्देशक फर्नान्डा डोज कोस्टाले नेपालमा वंश तथा जातिय विभेदसँग सम्बन्धित मानव अधिकार उल्घंनमा रहेको दण्डहीनताको संस्कृतिलाई प्रतिवाद गर्न राज्यले पर्याप्त कार्य नगरेको कुरा बताइएकी थिइन ।
हरेक प्रहरी चौकीमा दलित सेलको व्यवस्था गरिएको छ तर पनि प्रभावकारी कार्यान्वयन भएको छैन । विशेषगरी मधेस प्रदेशका तीन जिल्लामा जिल्ला तहका प्रहरी चौकी भ्रमण गर्दा त्यहाँ ’दलित डेस्क’ लेखिएको भेटियो तर दलित डेस्क क्रियाशील नभएको भन्ने कुरा प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कार्यक्रममा गहिरो जरा गाडेर बसेको जातीय तथा लैङ्गिक हिंसा र विभेद विरुद्ध रूपान्तरणकारी प्रतिकार्यका लागि नेपाल सरकारले मानवअधिकारको दायित्वमा आधारित र अन्तरसामूहिक दृष्टिकोणका आधारमा समग्र योजना बन्नुपर्ने कुरा पनि बताइएको थियो ।


0 comment