दीपा थपलिया,

ललितपुरको जावलाखेलमा स्नान कक्ष (नुहाउने कोठा ) सहितको अत्याधुनिक सार्वजनिक शौचालय निर्माण भएको छ । बिहीबारदेखि शौचालय प्रयोगका लागि खुल्ला गरिएको छ । ललितपुर महानगरले एरोसान सस्टेनेबल स्यानिटेसनसँग सहकार्य गरी उक्त शौचालय बनाएको हो । शौचालय आपङगतामैत्री, महिलामैत्री, बालबालिका र ज्येष्ठ नागरिक मैत्री र वातावरणमैत्री छ । शौचालयमा सेनेटरी प्याड समेत उपलब्ध छ । शिशुलाई स्तनपान गराउनका लागि समेत छुट्टै ठाउँको व्यवस्था गरिएको छ । एरोशानले महानगरको मंगलबजार, पाटनढोका र जावलाखेलमा गरी तीन ठाउँमा अत्याधुनिक सार्वजनिक शौचालय बनाएको छ ।

शौचालय उद्घाटन कार्यक्रममा बोल्दै महानगर प्रमख चिरीबाबु महर्जनले ललितपुर महानगरमा भएका शौचालयहरु सफा भएको बताउनु भयो । शौचालय भन्ने बित्तिकै फोहोर र गाउँछ भन्ने आम धारणालाई हामीकहाँको शौचालयले चिरेको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बताउनु भयो।

शौचालय नजिकै बसेर चिया खान सकिने गरी शौचालयहरु निर्माण भएका छन् । असल अभ्यासहरु अवलोकन गर्ने क्रममा एक डेढ वर्षअघि वंगलादेश पुग्दाको अनुभव सुनाउँदै नगरप्रमुखले हामी कहाँ भएको शौचालय हेर्दा वंगलादेशको भन्दा पो राम्रो र सफा लागेको प्रतिकृया दिनु भयो ।

वंगलादेशको सार्वजनिक शौचालयमा स्नान कक्ष देखिपछि महानगरले प्रत्येक वडामा बनाउँदै गरेको शौचालयको डिजाइनमा थोरै परिवर्तन गरी स्नानकक्ष थप गरेको मेयर महर्जनके ले बताउनु भयो । वडा नं.४ का वडा अध्यक्ष सन्तोष खड्काले जनघनत्वको अत्यधिक चाप भएको ठाउँमा सार्वजनिक शौचालय निर्माण हुँदा नागरिकहरु लाभान्वित हुने बताउनु भयो। चिडियाखाना यस वडामा भएकाले शौचालय खोज्दै आउने धेरै हुने भएकोले भोटो देखाउने जात्राका बेला तीन चारवटा मोवाइल शौचालय हुँदा पनि पर्याप्त नहुने आउदो दिनमा निर्माण सम्पन्न यो सार्वजनिक शौचालयले शौचालयको मागलाई केही पूर्ति गर्ने बताउनु भयो।

एरोशानका अध्यक्ष सोनी श्रेष्ठले शौचालय निर्माण र सुभारम्भ मात्रै ठूलो कुरा नभएको बताउँदै यसको संचालन महत्वपूर्ण भएको शौचालयलाई सफा र व्यवस्थित राख्न प्रयोगकर्ताको सहयोग महत्वपूर्ण भएको उनको भनाइ थियो । सोनीका अनुसार यहाँको दिसाजन्य लोदोबाट उर्जा उत्पादन गरिने जानकारी दिनु भयो । वाटर एडका राष्ट्रिय निर्देशक सुदर्शन न्यौपानले खानेपानी, सरसफाइ र स्वच्छतालाई वाटर एडले प्राथमिकता दिएको बताउनु भयो । दिगो र व्यवस्थित ढंगबाट शौचालय संचालनका लागि सहकार्य अत्यावश्यक भएको उहाको धारणा थियो ।

महानगर प्रमुख चिरीबाबु महर्जनले लगनखेलमा पनि जावलाखेल, मंगलबजार र पाटनढोकामा भएको जस्तै सार्वजनिक शौचालय आवश्यक भएको बताएका छन् । लगनखेलनमा अत्याधुनिक शौचालय निर्माणका लागि डिपिआर भइरहको जानकारी दिनु भयो । उहाले छिटटै त्यहाँ सुविधासम्पन्न सार्वजनिक शौचालय निर्माणको काम सुरु हुने जानजारी दिनु भयो ।

ललितपुर महानगरले एक वडा एक सार्वजनिक शौचालयको नीति अनुसार महानगरको ७ वटा वडामा सार्वजनिक शौचालय निर्माण गरिरहेको छ । वडा नं.८, ९, २, १० , २४ , २५, २७ मा सार्वजनिक शौचालय निर्माणको काम भइरहेको हो । महानगरका इन्जिनियरका अनुसार वडा नंं.८, ९, २४, १० ,२ मा बनेका शौचालयमा ’फिनिसिङ’को काम भइरहेको छ । वडा नं.२५ र २७ लेआउट र स्ट्रकचरको काम भइरहेको छ ।