काठमाडौँ – लगानी सम्मेलनले भव्य खर्च गरेको दुई दिने लगानी सम्मेलनका दौरान औपचारिकतामा नै सिमित बनेको छ । सम्मेलनका क्रममा निजी क्षेत्रका विभिन्न कम्पनीले करिब १० देखि ११ अर्ब हाराहारी लगानी ल्याउने समझदारी पत्रमा हस्ताक्षर (एमओयू) गर्नुबाहेक खास उपलब्धि भएन ।
लगानी बोर्डले यिनै एमओयूलाई सम्मेलनको सफलताका रूपमा प्रस्तुत गर्न खोजेको देखिन्छ । विश्वभरका (नेपालसहित) २ हजारभन्दा बढी लगानीकर्ता उपस्थिति रहनुबाहेक सम्झनलायक अर्को उपलब्धि नै नभएको सम्मेलनमा सहभागी लगानीकर्ताहरू बताउँछन् । यसबाट लगानी सम्मेलनबाट अपेक्षाकृत प्रतिफल लिनका लागि लगानी बोर्ड चुकेको देखिन्छ ।
लगानी सम्मेलनमा विभिन्न चरणमा रहेका १ सय ४८ वटा परियोजना प्रस्तुत गर्ने तयारी थियो । तर, अन्तिम समयमा ६ वटा परियोजना थपेर १ सय ५४ वटा परियोजना प्रस्तुत गरियो ।
लगानी बोर्डले ४ वटा परियोजनामा पीडीए गर्ने तयारी गरेको थियो । सम्मेलन सुरु भएको पहिलो दिनभर बोर्डले यिनै चार परियोजनामा सम्झौता गर्ने भनिरह्यो । तर, दोस्रो दिनको कार्यक्रम सकिने बेला बोर्डले पीडीए नहुने जानकारी दियो ।
बोर्डका प्रवक्ता पद्युम्नप्रसाद उपाध्यायले लगानी सम्मेलनमा पीडीए गर्ने भनेर गरिएको तयारी नसकिएको कारण सम्झौता हुन नसकेको बताए । यसमा विभिन्न प्रक्रिया पुरा गर्नुपर्ने भएकाले ती सबै प्रक्रिया पुरा हुन नसकेको उनको भनाई थियो ।


0 comment