गत शनिबार भएको इलाम–२ को उपचुनावमा नेकपा (एमाले) उम्मेदवार सुहाङ नेम्वाङले २७ हजार ७७२ मत ल्याएर निर्वाचित भए। सुहाङले ५ हजार ८३० को फराकिलो अन्तरले प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई पाखा लगाइरहँदा बुवा सुवास नेम्वाङले भन्दा कम मत पाए। दोस्रो स्थानमा रहेका खड्काले २१ हजार ९४२ मत प्राप्त गरे । तेस्रोमा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाए ।

अघिल्लोपटक उनका बुवा सुवासले कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनलाई पराजित गर्दै झिनो मतको अन्तर निकालेका थिए। त्यतिबेला सुवासले ३० हजार २० मतले चुनाव जितेका थिए। प्रतिस्पर्धी कांग्रेसका खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका थिए।

त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत ल्याउँदा रास्वपाका लिम्बूको भने जमानत जोगिएन। उनले ५ हजार ५० मात्रै मत प्राप्त गरे।

प्रतिनिधि सभामा उम्मेदवारी दिएका उम्मेदवारले धरौटी जोगाउन कुल सदर मतको १० प्रतिशत मत ल्याउनुपर्छ। एक लाख १५ हजार ८८९ मतदाता रहेको इलाममा ६९ हजार ३७४ मत खसेको थियो। त्यसमध्ये ६८ हजार ४७२ मत सदर भएको थियो। ९०२ मत बदर भएको थियो।

इलाम–२ मा रास्वपा, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी, मंगोल नेशनल अर्गनाइजेशनलगायत १६ उम्मेदवारको जमानत जफत भयो।

बझाङ–१ को प्रदेश सभा उपनिर्वाचनमा ११ हजार ६१३ मत ल्याएर एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार ३४६ मत प्राप्त गरेका छन्। 

तेस्रो स्थानमा रहेका नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ८३१ मत ल्याएका छन्। यी तीन जना उम्मेदवारले मात्रै धरौटी जोगाए।

बझाङ–१ को प्रदेश सभा उपनिर्वाचनमा २९ हजार ७०५ मत सदर भएको थियो। सोमबार दिउँसो सकिएको मत गणनाअनुसार एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २५१४ मत ल्याएका थिए। जबकि यो क्षेत्रमा जमानत जोगाउन उम्मेदवारले २ हजार ९७० मत ल्याउनुपर्ने थियो। नेकपा (एकीकृत समाजवादी) सहित ८ जना उम्मेदवारको धरौटी जफत भएको छ।

आयोगका अनुसार प्रदेश सभाको प्रत्यक्षतर्फ उम्मेदवारी  दर्ता गर्दा पाँच हजार रुपैयाँ धरौटी लाग्नेछ। महिला, दलित अल्पसंख्यक वा आर्थिक रुपले विपन्नहरूले धरौटी रकममा आधा छुट पाउँछन्। सदर मतको १० प्रतिशत कटाउनले उक्त धरौटी रकम फिर्ता पाउँछ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत, नेपाल मजदुर किसान पार्टीलगायत ८ जना उम्मेदवारको धरौटी जफत भएको छ।