चैत्र १२ काठमाडौं । 
राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लङघ्न गरेको ठहर गरी सरकारलाई कारवाही गर्न सिफारिस गरेपनि गृहमन्त्रालयको चाँजोपाजोमा सरकारले कारवाही नगरी उन्मुक्ती दिने निर्णय गरेको  हो । यसरी उन्मुक्ती पाउनेमा तत्कालिन प्रमुख जिल्ला अधिकारी (सिडिओ) ४ जना र प्रहरी उपरिक्षक समेत गरी १२ जना प्रहरी अधिकृत रहेका छन । समाचार स्रोतका अनुसार गृह मन्त्रालयकै प्रस्तावमा सरकारले सो निर्णय गरेको पाइएको छ । गृहले कारवाहीका लागि सिफारिस गरिएका सिडिओ तथा प्रहरी अधिकृतका सवालमा आयोगलाई पुर्नविचार गर्न पत्रसमेत पठाएको पाइएको छ । तर आयोगले भने पूर्ण बैठकबाट निर्णय गर्नुपर्ने हुन्छ । पूर्ण बैठकको निर्णय बाकी भएको स्रोतले बतायो । 
यस अघिका सिफारिसहरुमा पनि सरकारले कारवाही गर्न नसकिने भन्दै आयोगलाई अनुरोध गरेको थियो । कारवाही सिफारिस भएका शालीग्राम शर्मा पौडेल तत्कालिन प्रमुख जिल्ला अधिकारी खोटाङ्ग, दिपक कुमार पहाडी तत्कालिन प्रमुख जिल्ला अधिकारी उदयपुर, सरोज प्रसाद गुरगाईँ तत्कालिन प्रमुख जिल्ला अधिकारी सिरहा र रमा आचार्य तत्कालिन प्रमुख जिल्ला अधिकारी सोलुखुम्बु रहेका छन । आयोगको सिफारिस बमोजिम सरकारले कारवाही गरेको भए सिडिओहरुको २ वा ५ वर्षसम्म बढुवा रोक्का वा तलब वृद्धि रोक्का देखि निलम्बनसमेत हुने व्यवस्था थियो तर सरकारले कारवाही गर्नुको सट्टा उनीहरुलाई महत्वपूर्ण जिम्मेवारी दिइएको कुरा स्रोतको दावी छ । 

मानवअधिकार उल्लङ्घन गरेको ठहर गरी आयोगले नारायणप्रसाद चिमोरिया (तत्कालीन प्रहरी नायब उपरीक्षक, जिल्ला प्रहरी कार्यालय, खोटाङ) गोविन्दप्रसाद साह (तत्कालिन प्रहरी निरीक्षक, जिल्ला प्रहरी कार्यालय खोटाङ), उमाप्रसाद चतुर्वेदी (तत्कालिन प्रहरी उपरिक्षक, जिल्ला प्रहरी कार्यालय सिराहा), टेकुनन्द इवा लिम्बु (तत्कालिन प्रहरी नायब उपरिक्षक, जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बु), महेन्द्र दर्नाल (तत्कालीन प्रहरी निरिक्षक, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु), नवराज दाहाल (तत्कालिन प्रहरी सहायक निरीक्षक, जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बु), ऋषि खनाल (तत्कालिन प्रहरी सहायक निरीक्षक, जिल्ला प्रहरी कार्यालय, उदयपुर) दीपेन्द्र श्रेष्ठ (तत्कालिन प्रहरी निरीक्षक, जिल्ला प्रहरी कार्यालय, सिराहा), र राजनप्रसाद नेपाल (तत्कालिन प्रहरी सहायक निरीक्षक, भण्डारे प्रहरी चौकी, खोटाङ) लाई कारबाही गर्न भनेको थियो ।

रामकुमार यादव (तत्कालिन प्रनानि, जिल्ला प्रहरी कार्यालय, सिराहा), श्याम राउत (तत्कालिन प्रनानि जिल्ला प्रहरी कार्यालय, उदयपुर) र भुवनसिंह कार्की (प्रहरी हवलदार, तत्कालिन जिल्ला प्रहरी कार्यालय, उदयपुर) उपर कारबाहीका लागि आयोगले सरकारलाई सिफारिस गरेको थियो ।
तर सरकारले कारवाही नै नगरी उन्मुक्ती दिएपछि सुशासनको रटानमा तल्लीन सरकारको व्यवहार ठिक उल्टो भएको छ । सरकारले दोषीलाई उन्मुक्ती त दियो यसबाट दण्डहिनतालाई थप बल दिएको कुरा पनि बताउने गरिएको छ ।