
वासुदेव डाँगी, अधिवक्ता,
सर्वसाधारण जनताको न्याय दिलाउनका लागि कानुनी लडाई लड्ने अधिबक्ता अदालतको फैसलाबाट आफै पिडित बन्न पुगेको समाचार बिरलै सुन्न पाईन्छ तर अधिवक्ता गोपालभूषण पराजुली अहिले सर्वोच्चको फैसलाका कारण गम्भीर रुपमा तनावमा परेका छन् । २०८० बैशाख २० गते सर्वोच्च अदालतको एक पुनरावेदन फैसलाले पोखरा महानगरपालिका– १ निबुवाघारी भन्ने कित्ता नं. ५९१ को ३७ रोपनी १३ आना र बतासे लामापाटो भन्ने कित्ता नंं. ३३८ को २५ रोपनी १ आना १ पैसा जग्गाका कारण उनले तनाव झेल्नु परेको हो ।
जिल्ला अदालत कास्कीले ०४८ मा, तत्कालीन पुनरावेदन अदालत पोखराले ०५० मा र सर्वोच्च अदालतले ९ असोज ०६२ मा उक्त जग्गा पराजुलीका बुबा मदनभूषणको एकलौटी रहेको ठहर गर्यो । यसको ठीक विपरीत जिल्ला अदालत कास्की, पुनरावेदन अदालत पोखरा र सर्वोच्च अदालतले क्रमशः १९ माघ ०७१, २६ असार ०७३ र २० वैशाख ०८० मा पराजुलीले बर्षादेखि भोगचलन गर्दै आएको जग्गा सार्वजनिक रहेको ठहर ग¥यो । न्यायप्रप्तिको लागि मुद्दा लड्दा–लड्दै गोपालभूषणका पिता मदनभूषणको मृत्यु भइसकेको छ । एउटै मुद्दामा आएको अदालतको दुई विपरीत फैसलाले उनका छोरा गोपालभूषण र सिंगो परिवारमा ठूलो तनाव बढाएको छ ।
कसरी भयो जग्गा विवाद ?
वि.सं १८७७ मा तत्कालीन राजा राजेन्द्र वीरविक्रम शाहले पण्डित रत्नाखर पराजुलीलाई लालमोहरमार्फत कुशविर्ता दिएका थिए । पछि राजा महेन्द्र आफैं गएर पृथ्वीनारायण क्याम्पससहितका विभिन्न सरकारी कार्यालय बनाउने र यसबाट स्थानीयस्तरमा विकास भइ सबैलाई हित हुने भनी आग्रह भएपश्चात् पराजुली परिवारले विर्ताबाटै ठूलो जग्गा छाडिदिए ।
स्कुल निर्माण गर्न कित्ता नम्बर ३४३ को ३९ रोपनी जग्गा राष्ट्रिय व्यावसायिक माविलाई दान दिइयो । हाटबजार राख्न र सार्वजनिक हितलाई भनी कित्ता नम्बर ३४१ को पुरानो टुँडिखेलको ३६ रोपनीको जग्गा बाहेकका लम्पाटोको जग्गा, निबुवाघारी जग्गा समेतका अंशबाट भोग गर्ने दर्तावाला मोही विर्तावार समेतको भोग तथा लगत अनुसारको अलग अलग जग्गाको विवरण खुलाइएको बेहोरा २००२ सालमा भएको घरदर मुचुल्कामा समेत स्पष्ट खुलेको छ । दानमा दिएको कि.नं.३४३ तथा सन्धिसर्पण भएको कि.नं. ३४१ को जग्गामा कुनै विवाद छैन ।
सो बाहेक बिर्तामध्येकै कि.नं. ५९१ को निबुवाघारी र कित्ता नम्बर ३३८ को बतासे लाम्पाटोको जग्गा सन्तान, दरसन्तान हुँदै रत्नाखरका नाति जीवनाथ पराजुलीसम्मले भोगचलन गरिरहेका जग्गा हुन् । निवुवाघरी जग्गामा पराजुली परिवार भित्रै बाली लुटपिट मुद्दा चलि बादीप्रतिबादीको हक राखी २०१० सालमा मिलापत्र समेत भएको थियो । २०११ फागुन १२ मा जीवनाथले आफ्नो हकभित्रको उक्त जग्गाबाट छोराहरू र श्रीमतीलाई वण्डापत्र पारितसमेत गरी अंशवण्डा गरिदिएका थिए ।
बेलायती नागरिक डाक्टर ओहेलेन मिसलाई जीवनाथले २०११ सालमा कि.नं. ३३८ र ५९१ को जग्गा बहाल कबुलियतनामा गरी साइनिङ अस्पताल संचालन गर्न वार्षिक ७२० रुपैयाँ लिने गरी भाडामा दिए । कबुलियतनामा गर्दा जग्गा खाली गर्नुपुर्व आठ महिनाअघि सूचना दिनुपर्ने शर्त राखिएको थियो । सोही शर्त र बहाल सम्झौताअनुसार अस्पतालले २०१५ सम्म नियमित भाडा तिरिरहेको थियो । २०१६ सालमा बिर्ता उन्मूलन ऐन आयो । ऐन अनुसार, भोगचलन नभई र आवदीमा प्रयोग नभएका विर्ता जग्गा सरकारीकरण हुनुपर्ने प्रवधान थियो । २०१७ सालमा राजा महेन्द्रले पञ्चायती व्यवस्थाको स्थापना गरेपछि नियुक्त अञ्चलाधीशले ‘अब सबै बिर्ता जग्गा सार्वजनिक हुन्छन्’ भनी मौखिक आदेश दिए । विर्ताउन्मुलन ऐन, २०१६ बमोजिम भोगचलनमा रहेको आवदी विर्ता जग्गा, जग्गाधनीले विर्ता विवरण पेश गर्नु पर्ने व्यवस्था बमोजिम मदन भुषण पराजुलीले विर्ता विवरण भरि २०१७/५/३१ मा जग्गा दर्ताको दर्खास्त दिई विर्ता जग्गा रैकरम परिणत भई २०१९ सालमा मदन भुषण पराजुलीको नाममा नम्बरी दर्ता भई २०१७ सालदेखी २०३३ सालसम्म उत्त जग्गाको तिरो दाखिला भएको छ ।
अस्पतालले भने भाडा दिन छाड्यो । किन भाडा नदिएको भन्दै पराजुली अस्पताल ब्यवस्थापनसँग जाँदा उसले अञ्चलाधीशको आदेशले भन्यो । त्यो बेला लिखत आदेश आइसकेको थिएन् । २०२० सालमा बिर्ता जग्गा सरकारको हुने भनी अञ्चलाधीशले लिखित आदेश नै गरे । अनि त्यो जग्गामा रहेको साइनिङ हस्पिटललाई मदनभूषणको साटो राज्यकोषमा बहाल बुझाउन आदेश दिए ।
जीवनाथका अरू भाइहरूले पञ्चायतकालका शक्तिशाली अञ्चलाधीश विरुद्ध मुद्दामामिला गर्ने आँट गरेनन् । हकवाला भाइहरूले २०२० सालमा अवउप्रन्त ‘सो जग्गाको सम्बन्धमा जसले मुद्दा लडी सधाउन सक्दछ, त्यसलाई धन्यवाद समेत दिई खतिउपती त्यसले नै उपभोग गर्ने भनि’ जीवनाथ पराजुलीका छोरा मदनभूषण पराजुलीलाई ‘तिमीसँग जग्गाको हक नमाग्ने, आफैं मुद्दामामिला लड्नू’ भनी छोडपत्र गरिदिए । एकलौटी हक पाएका मदनभूषण अञ्चलाधीशको निर्णयविरुद्ध कानूनी उपचारमा गई अञ्चलाधीशको आदेश विरुद्धको मुद्दा तह–तह हुँदै सर्वोच्च अदालत पुग्यो ।
२०२६ वैशाख २३ मा सर्वोच्च अदालतका न्यायाधीश नयनबहादुर खत्री र बब्बरप्रसाद सिंहको इजलासले उक्त जग्गा मालपोतको नम्बरी दर्ता र बन्दा पत्रको आधारमा मदनभूषण पराजुलीकै देखिएको भनि आदेश ग¥यो । २०२७ पुस ३ मा सर्वोच्च अदालतका न्यायाधीशहरू वासुदेव शर्मा र प्रकाशबहादुर केसीको इजलासले ‘अंशबन्दाको कागजबाट र मालको दर्ताबाट समेत बादी पुनराबेदक मदनभूषण पराजुलीको हक देखिन आएको’ व्यहोरा उल्लेख गर्दे विवाद टुंग्याउन लगाउन तल्लो अदालतलाई आदेश दियो ।
२०३३ सालमा पश्चिमाञ्चल क्षेत्रीय अदालत पोखराले ‘श्री अञ्चलाधिशबाट कानून बमोजिम जग्गा अधिग्रहण वा प्राप्ति गरेको पाइएन, बाहाल नबुझाउनु होला भनि श्री अञ्चाधिशले गर्नु भएको आदेश मिलेन भन्दै जग्गा सार्वजनिक हुने अञ्चलाधिशको आदेश बदर भएको फैसला भयो । त्यो फैसला विरुद्ध कोही पनि सर्वोच्च अदालत आएनन्, चित्त बुझाएर बसे । सो फैसला नै अन्तिम रह्यो ।
अदालतबाटै विवादित जग्गा व्यक्तिको नाममा हुने ठहर भएपछि २०२० सालमा हक छाडेकाहरूले फैसला बदर गरी आफ्नो समेत हक कायम गर्न माग राखी फेरि मदनभूषण विरुद्ध २०३४ सालमा जिल्ला अदालतमा मुद्दा हाले । २०४८ सालमा जिल्ला अदालत, कास्की ०५० सालमा पुनरावेदन अदालत पोखरा र २०६२ सालमा सर्वोच्च अदालतले एकलौटी हक ठहर हुने फैसला गर्यो ।
२०६२ असोज ९ मा सर्वोच्च अदालतका न्यायाधीशहरू केदारप्रसाद गिरी र शारदाप्रसाद पण्डितको इजलासले मदनभूषण पराजुलीको निधन भैसकेकोले निजको मुद्दा सकार्ने छोरा गोपालभूषण पराजुलीको एकलौटी हक हुने’ ठहर निर्णय ग¥यो ।
विवादित जग्गा गोपालभूषणको नाममा हुने ठहर भएपछि हक छाडेका हकवालाहरूले फेरि जग्गामा दाबी गर्न थाले । हकवाला दाबी गर्ने चार व्यक्तिहरूले सर्वोच्च अदालतको फैसलामा समेत चित्त बुझाएनन् । जीवनराज पराजुली समेत, जयराम पराजुली समेत, नन्दकला पराजुली समेत र रामप्रसाद पराजुली समेतले फैसला पुनरावलोकन हुनुपर्ने माग गर्दै छुट्टाछुट्टै निवेदन दिए ।
पुरानो फैसलामा कैफियत नदेखिएको भन्दै सर्वोच्च अदालतका न्यायाधीशहरू कल्याण श्रेष्ठ, अनुपराज शर्मा, तपबहादुर मगर र ताहिर अलि अन्सारीको दुई छुट्टाछुट्टै पूर्ण इजलासले २०६५ साउनमा ‘फैसला पुनरावलोकन गर्न नपर्ने’ आदेश गर्यो र २०६२/०६/०९ को सर्बोच्च अदालतको फैसलालाई नै अन्तिम र अकाट्य गर्यो ।
सर्वोच्चको फैसला पछि गोपालभूषण जग्गा दर्ताका लागि उनले मालपोत कार्यालय कास्की, नापी गोश्वारा कास्की लगायतका अड्डामा नयाँ नियम र कानुन अनुसार जग्गा दर्ताका लागि निवेदन दिए ।
कार्वाही हुदै जाँदा पनि सुनुवाइ नभएपछि उनले २०६५ सालमा भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा निवेदन दर्ता गराए । मन्त्रालयले मालपोत कार्यालयलाई ‘जग्गा दर्ता गरिदिनू’ भनी तोकादेश दियो । जग्गा दर्ता प्रकृयामा रहेकै समयमा रुद्र प्रसाद चुहाई समेतले सर्वोच्च अदालतको फैसला बदरगरि जग्गा सार्वजनिक कायम गरि पाउँ भनि जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेपछि उक्त फैसला बदर गर्न प्रमाण पुर्याउने नसक्ने भनि मुद्दा फिर्ता गरे पछि रमेश पाठकले सोही व्यहोराको मुद्दा हालेपछि उक्त मुद्दा डिसमिस फैसला भयो ।
बारबार मुद्दा हाल्ने काम रोकिएन । जसपछि वैशाख २०६६ मा जसबहादुर गुरुङ समेतले सर्वोच्च अदालतको फैसला बदर गरी उक्त जग्गा सार्वजनिक गराइपाऊँ भनी पुनः जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरे । २०७१ माघ १९ मा न्यायाधीश रामप्रसाद ओलीको इजलासले २०६२ असोज ९ को सर्वोच्च अदालतको फैसलाले लिइएका प्रमाणहरुको अपब्याख्या गर्दै सर्बोच्च अदालतको अन्तिम फैसलाको बिरुद्ध गई उक्त फैसला उल्ट्याउँदै जग्गा सार्वजनिक हुने प्रमाणको अभावमा सार्वजनिक हुने ठहर गर्यो ।
मूलरुपमा भौतिक रूपमा हेर्दा ‘जग्गामा अस्पताल देखिएको’ भन्ने आधारमा सो फैसला भएको थियो । २०७३ असारमा पुनरावेदन अदालत पोखराले पनि कास्की जिल्ला अदालतकै फैसला सदर गर्यो । २०७४ मा सर्वोच्च अदालतका न्यायधीशहरू शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको संयुक्त इजालसले ‘२०७२ मा नक्साकुण्डली गराउँदा जग्गा सार्वजनिक हो भनी कोही कसैले कतै उजुरी गरी लेखाउनसमेत नसकेको अवस्थामा जग्गा निवेदकको हो भनी विपक्षीले स्वीकार गरेको देखिन्छ भन्दै अधिकार नै नभएका व्यक्तिले दिएको निवेदन सुनी भएको कास्की जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालत पोखराबाट २०७३ मा भएको फैसला कानुनको व्याख्यात्मक त्रुटी रहेको भन्दै पुनरावेदन गर्ने अनुमति दिइन्छ भनी निस्सा पाएर मुद्दा फेरि सर्वोच्चमा आयो ।
सर्वोच्च अदालतमा लामो समयसम्म चलेको मुद्दा २० वैशाख २०८० मा टुंगियो । न्यायाधीशहरू कुमार रेग्मी र सुष्मलता माथेमाको इजलासले बिना प्रमाण सार्वजनिक हुने भनी तत्कालीन पुनरावेदन अदालतकै फैसला सदर ग¥यो । अधिवक्ता गोपालभूषणका अनुसार २०१७ सालदेखि २०३४ सालसम्म तिरो तिरी भोगचलन गरेको र २०१९ सालमा नम्बरी दर्ता भएको जग्गा के कुन आधारमा अभिलेख अदालतबाट बिना आधार सरकारी भयो भन्ने कुराको स्पष्ट जवाफ नत फैसला गर्ने न्यायाधीशले फैसलामा उल्लेख गर्न सकेका छन्, नत जग्गा सार्वजनिक गरि पाउँ भन्ने फिराद पत्रमा नै नम्बरी दर्ता बदर गरि पाउँ भन्ने नै छ ।
हिजो राजाको पालामा अञ्चलाधिशले सरकारी बनाउन नसकेको जग्गा आज गणतन्त्र आउँदा व्यक्तिको सम्पत्तीको रक्षक न्यायालयले सुरक्षित गर्नु पर्नेमा हतक गरि नागरिकको हकको अपहरण गर्ने काम अदालतबाट हुनु (रक्षक नै भक्षक) न्यायलयको कलंक स्थापित भएको छ । पञ्चायतकालमा पनि यसरी जथाभावी फैसला गरि व्यक्तिलाई सर्वहारा बनाउने कार्यलाई निश्तिेज बनाउने कार्य हुकुम प्रमाङ्गीबाट न्याय पाउने कुरा संविधानमा नै व्यवस्था गरिएको थियो । तर अहिले संविधानमा त्यो कुरालाई सम्बोधन हुने गरि कुनै व्यवस्था नगरिएकोले पिडित सधैभरि पिडित नै रहनुपर्ने अवस्था आउनु दुर्भाग्यपुर्ण रहेको छ ।
व्यक्तिको जग्गा विना आधार प्रमाण सार्वजनिक कसरी हुन सक्छ भन्ने विषयले व्यापक रुपमा छलफलको विषय बनाएको छ । नागरिकले आफ्नो सम्पत्ति सम्बन्धी अधिकारबाट बन्चीत हुनुपर्ने यो कस्तो न्याय व्यवस्था हो । एकपटक अभिलेख न्यायालयबाट अन्तिम र अकाट्य भई व्यक्तिको निजी हक ठहर भएको सम्पत्ति न्यायालयबाटै उनै प्रमाणका आधारमा कसरी सार्वजनिक कायम गर्न मिल्छ ? यसको न्यायोेचित जवाफ न्यायालयले दिनु पर्छ कि पर्दैन । न्यायालयले नागरिकको हकको विषयमा गैरजिम्मेबारपूर्ण तरिकाले अन्तिम फैसलाको मर्म विपरित हुने गरि निर्णय गर्दै जाने हो भने मुद्दाको अन्त्य कहिले हुने ? कहिले न्यायालयबाट अनुभुत हुने गरि नागरिकका हक अधिकार प्राप्त हुने हो ? न्यायामा आएको विचलनको यस्तो अवस्थाको अन्त्य कहिले हुने ?


0 comment