दिपक श्रेष्ठ,

काठमाडौं –  करोडौं ठगी गरेको आरोपमा काभ्रेपलाञ्चोकका कुमार थापा भनिने बिजय थापा र सिन्धुलीका रविन कुमार थापा सहित चार जना पक्राउ परेका छन् । व्यापारीको भेषमा विभिन्न बहाना बनाएर चार जनाबाट ८ करोडभन्दा बढी रकम ठगि गरेको आरोपमा प्रहरीले एक महिला सहित चार जनालाई पक्राउ गरेको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कुमार थापासहित चार जनालाई पक्राउ गरेको हो । काभ्रेका थापा भक्तपुरको कमलविनायकबाट पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सिन्धुलीका रवीन कुमार थापा, स्याङ्जाकी मीना दमै र सप्तरीका दिलिप कुमार लाभ पक्राउ परेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आफू सुनका गरगहना विदेशमा निर्यात गर्ने व्यापारी भएको भन्दै थापाले पोखराको विभिन्न व्यवसायीहरूसँग सुन खरिद गर्ने नाममा ठगी गरेको पाइएको छ । विरेन्द्र सुनारले आफू ठगिएको थापा पाएपछि जिल्ला प्रशासन कार्यालय कास्कीमा २ करोड बिगोको मुद्दा दर्ता गरेका थिए ।

त्यसलगत्तै यसबारे सम्बन्धित निकायबाट पत्राचार भएपछि कार्यालयको टोलीले उनलाई पक्राउ गरेको रेग्मीले जानकारी दिनुभयो । थापालाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा ठगी गर्ने कार्यमा मिना दमै, रविन कुमार थापा र दिलीप कुमार लाभको समेत संलग्नता खुलेको हो । मीना दमैविरुद्ध कास्कीमा १ करोड ७० लाख ५९ हजार बिगो मागदावी भएको मुद्दा छ । उनले चितवनमा समेत १ करोड ३६ लाख ठगी गरेको देखिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

रविन कुमार थापाले चितवन जिल्लामा ४ वटा बैङ्किङ कसुर तथा ठगी मुद्दामा २ करोड ४५ लाख ठगी गरेको देखिएको र काठमाडौँमा ३ वटा मुद्धामा फरार रहेको पाइएको छ । दिलीप कुमार लाभ २ वटा मुद्दामा फरार थिए । थापाले पोखराका सुनचाँदी पसलमा पहिलो पटक १० लाख, दोस्रो पटक २० लाख, तेस्रो पटक ५० लाखका गहना खरीद गरेका थिए भने पछि विश्वास जितेर १ करोड ८० लाखका गहना बाहिर निर्यात गर्ने भनी लिई चेकमार्फत भुक्तानी गरेर योजनाबद्ध रुपमा ठगी गरेको खुलेको छ ।

यसैगरी लाभले भक्तपुर सुडालमा अरु व्यक्तिको नाममा रहेको जग्गा भए पनि आफ्नो भनेर परिवार अटो मोबाइलबाट २६ लाख रकम ठगेको खुलेको छ । यस्तै तीन गाडी समेत लगेको खुलेको छ । प्रहरीका अनुसार ठगीमा मीना दमैलाई प्रयोग गरेको पाइएको छ । मिना दमै माथी कास्कीमा ७ वटा ठगीका मुद्दा दर्ता भएको देखिएकोओ छ भने चितवनमा पनि २ वटा मुद्दा दर्ता भएका छन् । मिना दमै १ बर्ष अघि ठगी गरेको आरोपमा जेल सजाय काटेर निस्केका थिए ।

कुमार थापा विरुद्ध पनि कास्कीमै २ करोड ठगीमा बैङ्किङ कसुर मुद्दा दर्ता भएको पाइएको छ । सोही समुहले चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नम्बर ११ बस्ने बिन्दु न्यौपानेलाई पनि ३ कठ्ठा जग्गा खरिद गरेपछी कुमार थापाको नाममा रहेको पोखरा काउखोला स्थित मुक्तिनाथ बिकास बैंकको रकम नभएको ७५ लाखको चेक दिएर ठगी गरेका थिए । पिडित बिन्दु न्यौपानेले कुमार थापा बिरुद्ध चितवन जिल्ला प्रहरी कार्यालयमा ६ महिना अगाडि नै बैकिङ्ग कसुर मुद्धा दर्ता गराए पछि कुमार थापाको नाममा अदालतले पक्राउ पुर्जी जारी गरेको हो । पक्राउ पुर्जी जारी भएपछी थापा र उनका सहयोगि मिना दमै सहित विभिन्न स्थानमा लुकिछिपी बस्दै आइरहेका थियो ।

पोखरा प्रहरिले पक्राउ गरेका कुमार थापालाइ बैकिङ्ग कसुर मुद्धामा चितवन प्रहरीले खोजी गर्दै आइरहेको थियो अब कुमार थापालाइ चितवनमा ल्याएर थप कारवाही प्रकृया अगाडि बढाइने चितवन जिल्ला प्रहरी कार्यालयका प्रबक्ता श्रीराम भण्डारीले बताउनु भयो । यस्तै रविन कुमार थापाविरुद्ध चितवनमा ४ वटा मुद्दा र काठमाडौँमा ३ वटा मुद्दा दर्ता भई फरार रहेको पाइएको छ । कुमार थापाले मिना दमैलाई देखाई निजको नामको चेक दिने र निज बाटै कारोबार गर्ने गरेको पाइएको छ ।मिना दमै १ बर्ष अघि ठगी गरेको आरोपमा जेल सजाय काटेर निस्केका थिए ।कारोबार गर्दा विश्वास पार्न महिला प्रयोग गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।