सम्सेर क्षेत्री,

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा पिकअप गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

बुधबार साँझ चौतारा साँगाचोकगढी नगरपालिका–१०, सुकुटेमा बा१९च९१२३ नम्बरको पिकअपले बा प्र ०२–०२७ प ८५६२ नम्बरको स्कुटी र बा ४२प ४१६० नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो । ठक्करबाट स्कुटी र मोटरसाइकलमा सवार तीनजना घाइते भएका थिए ।

दुर्घटनामा दोलखाको वैतेश्वर गाउँपालिका ६ नाम्दुका २० वर्षीय प्रज्वल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । तामाङ स्कुटरमा सवार थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि धुलिखेल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । तामाङले चलाएको स्कुटीकै पछाडि बसेकी उदयपुरको गाईघाट घर भएकी २० वर्षीया निलु राई घाइते भएकी छन् । उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका १ का ५२ वर्षीय थपबहादुर कार्की पनि घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । दुर्घटनापछि गाडी र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।