पुष्पराज भट्टराई,

सुनसरी,  इटहरी २५ । बालग्राम चौकमा रहेको दर्पण क्लबले आफ्नो स्थापना दिनको अवसर पारेर १८औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त साधारण सभाले दिपक गिरीको अध्यक्षतामा ११ सदस्यीय  समिति सर्वसम्मत चयन गरिएको हो । क्लबका पूर्व अध्यक्ष एवं सल्लाहकार रुपेश भट्टराईले वार्षिक साधारण सभाले अध्यक्षमा दिपक गिरी, उपाध्यक्षमा दिव्यराज कोइराला, सचिवमा युवराज काफ्ले सहसचिवमा सुदिप थापा, कोषाध्यक्षमा प्रविण श्रेष्ठ, सदस्यहरुमा रोनक चौधरी, सन्तोष चौधरी (विक्रम), समन गिरी (प्रेम), कमल मगर, हर्कराज गिरी, सुमित गिरी गरी ११ सदस्यीय समिति सर्वसम्वतले चयन गरिएको बताएका छन् । 

कार्यक्रमको प्रमुख अतिथ्यता पूर्वअध्यक्ष नवीन श्रेष्ठले गरेका थिए भने क्लबका अध्यक्ष दिपक गिरीको अध्यक्षतामा सभा सम्पन्न भएको  थियो । प्रमुख अतिथि श्रेष्ठले बधाई तथा शुभकामना मन्तव्य राख्ने क्रममा युवाहरूले गरेको समाजसेवी कामले समाजमा सकारात्मक सन्देश जाने कुरा बताउँदै नवनिर्वाचित पदाधिकारीहरुलाई हौसला दिदै पुस्ता हस्तान्तरणसँगै  क्लबले नयाँ उर्जाशील युवाको नेतृत्व पाएकोमा खुसी व्यक्त गरे ।   

उक्त कार्यक्रमका सभापति दिपक गिरीले दर्पण क्लबले स्थापना कालदेखि नै सधैँभरी निस्वार्थ रुपमा विभिन्न सामाजिक कार्य गर्दै आइरहेको र आफूलाई थप जिम्मेवारी थपिएकाले आफ्नो कार्यकालमा क्लबको गरिमा जोगाउन निस्वार्थ भावले आफूहरु लाग्ने कुरा बताउँदै आगामी कार्ययोजना प्रस्तुत गरेका थिए । कार्यक्रममा क्लबका सचिवले सांगठनिक प्रतिवेदन पेस गरेका थिए भने कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । क्लबका पूर्व अध्यक्षलगायतका ५० जनाभन्दा बढी स्थानीय युवाहरुको समूहले छलफलपश्चात उक्त प्रतिवेदन पारित गरेको थियो ।

सभाले पूर्वअध्यक्ष रुपेश भट्टराईको संयोजकत्वमा सीताराम कटुवाल ,राजकुमार गिरी, पुष्पराज भट्टराई, लक्ष्मी खड्का, नरेन्द्रकुमार श्रेष्ठ, धननारायण प्रधान, शिबप्रसाद भट्टराई,  नवीन श्रेष्ठ, अर्जुन पराजुली, विष्णु कार्कीलगायतको ११ सदस्यीय  सल्लाहकार समिति चयन गरेको छ । कार्यक्रममा  प्रमुख अतिथि श्रेष्ठ, क्लबका सल्लाहकार अर्जुन पराजुलीले क्लबको विधान बमोजिम पद तथा गोपनीयताको सपथ ख्वाएको कुरा सल्लाहकार भट्टराईले जानकारी दिए । विसं. २०६२ मा स्थापना भएको  इटहरी क्षेत्रकै पुरानो मानिने दर्पण क्लबले बेलाबेलामा सरसफाई, जनचेतना, रक्तदान, खेलकुद एवं युवाजागरणलगायतका सामाजिक क्षेत्रमा उल्लेखनीय कामहरु गर्दै आएको छ ।