पुष्पराज भट्टराई,
सुनसरी, इटहरी १७ । बालग्राम चौकमा रहेको दर्पण क्लबले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखाको सहकार्यमा जिल्ला रेडक्रस सोसाइटी सुनसरी शाखाको प्राविधिक सहयोगमा रक्त संकलन गरिएको छ । ६२ जनाले रक्तदान गरेको कार्यक्रममा ६२ प्रिन्ट रक्त संकलन भएको कार्यक्रम संयोजक रुपेश भट्टराईले बताएका छन् ।
क्लबका अध्यक्ष दिपक गिरीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा समाजसेवी राजकुमार गिरी प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुुन्थ्यो । समाजसेवी गिरीले कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा बालग्राम चौक स्थित दर्पण क्लबका युवाहरूले गरेको रक्तदान जस्तो पुण्य कामले समाजमा सकारात्मक सन्देश जाने र यस्ता कार्य गरिरहन युवाहरूलाई हौसला दिनुभएको छ । कार्यक्रममा क्लबका पूर्व अध्यक्ष नवीन श्रेष्ठलगायतका ५० जनाभन्दा बढी स्थानीय युवाहरुले रक्तदान गरेका थिए ।
उक्त कार्यक्रमका संयोजक रुपेश भट्टराईले दर्पण क्लबले स्थापना कालदेखि नै सधैँभरी निस्वार्थ रुपमा विभिन्न सामाजिक कार्य गर्दै आइरहेको र इटहरीलगायतका रगतको अभाव हुन नदिन आफूहरुले रक्तदान कार्यक्रम सञ्चालन गरेको बताए । कार्यक्रममा सहभागी सबैलाई सधन्यवाद प्रमाणपत्र वितरण गरिएको थियो । इटहरी क्षेत्रकै पुरानो मानिने दर्पण क्लबले समाज सेवाको क्षेत्रमा उल्लेखनीय कामहरु गर्दै आएको छ ।


0 comment