सुनसरी- इटहरी उपनपा वडा नम्बर १७ जनमार्ग टोलस्थित कौशिकी आमा समूहले लागूऔषध दुव्र्यसन रोकथाम तथा सचेतनामूलक सम्बन्धी विविध कार्यक्रम सम्पन्न गरेको छ । पुस ७ गतेदेखि १५ गतेसम्म सप्ताहव्यापी रुपमा सञ्चालन गरिएको उक्त सचेतनामूलक कार्यक्रममा लागूऔषध दुव्र्यसन रोकथाम विरुद्ध सचेतनामूलक र्याली, सचेतना गोष्ठी, सचेतनामूलक सडक नाटक, निबन्ध लेखन प्रतियोगितालगायतका कार्यक्रम सञ्चालन गरिएको हो ।
सचेतनामूलक कार्यक्रमको पहिलो दिन पुस ७ गते बाल क्लबका सदस्यहरुबीच ‘लागूऔषध रोकथाममा समाजको भूमिका’ शीर्षकमा निबन्ध लेखन प्रतियोगिता आयोजना गरिएको कुरा आमा समूहकी अध्यक्ष ट्वीङ्कल चौधरीले बताइन् । उनले भनिन् ‘यो हाम्रो लागूऔषध विरुद्धको सचेतना कार्यक्रम सप्ताहव्यापी अभियान हो । हाम्रा नानीबाबुहरुलाई बढ्दो लागू औषधको दुव्र्यसन र कुलतबाट जोगाउन यस्ता अभियानले सघाउ पुग्ने कुरामा हामी विस्वस्त छौँ ।’ उक्त प्रतियोगितामा सरस्वती जब्दी मा वि इटहरी १६ की छात्रा युनिका सुवेदी प्रथम, सहिद स्मृति मा वि इटहरी १८ की छात्रा दीक्षा भण्डारी दोस्रो, सरस्वती जब्दी मा वि कै सुशान्त खतिवडा तेस्रो र बालविकास इङ्लिस बोडिङ स्कुल इटहरी १७ का विमला गिरीले सान्त्वना पुरस्कार जित्न गर्न सफल भएका थिए ।
निबन्ध लेखन प्रतियोगितामा प्रथम हुन सफल छात्रा युनिका सुवेदीले युवापुस्तालाई गलत बाटोमा होइन असल बाटोमा हिँडाउन सके नयाँ पुस्ताले समाजलाई बदल्न सक्छन् भन्दै कार्यक्रममा सहभागी हुने अवसर पाउँदा खुसी लागेको बताइन् ।
पुस ९ गते सचेतनामूलक प्रभातफेरि र्यालीको आयोजना गरिएको १७ नम्बर वडा महिला सदस्य एवं सो कार्यक्रमकी विशिष्ट अतिथि विष्णु खड्काले बताइन्् । आमा समूहकी अध्यक्ष ट्वीङ्कल चौधरीको प्रमुख आतिथ्यतामा सञ्चालित उक्त प्रभातफेरि र्यालीमा इटहरी उमनपा वडा नं १७ का जनप्रतिनिधि वडा अध्यक्ष प्रभात कुमार आचार्य, वडा सदस्यहरु, जनमार्ग टोलका अध्यक्ष अर्जुन पराजुली, वडाबाल सञ्जाल, सिर्जनशील बाल क्लब, समुदाय प्रहरी साझेदारी इलाका प्रहरी कार्यालय पकली, आमा समूह, टोल विकास समितिहरु, किसान कल्याण साकोस इटहरी १६, सरस्वती मावि जब्दी र जनजागृति माविका बालबालिकाहरु सहभागी थिए । लागूऔषध विरुद्धको सचेतना र्यालीमा हातहातमा प्ले कार्ड बोकेर स्थानीय समाजसेवी, आमा समूह, बुद्धिजीवी, शिक्षक, विभिन्न विद्यालयका विद्यार्थीहरुले वडा नम्बर १६ र १७ का विभिन्न टोलमा परिक्रमा गरेका थिए । उक्त र्याली वडा नम्बर १६ लविपुर चोक हुँदै जनमार्ग टोलमा आएर कोण सभामा परिणत भएको थियो ।
प्रमुख अतिथि एवं सामाजिक अभियन्ता ट्वीङ्कल चौधरी, १७ नम्बर वडा अध्यक्ष प्रभात कुमार आचार्य, जनमार्ग टोलका अध्यक्ष अर्जुन पराजुली, जेष्ठ नागरिक जयप्रसाद बञ्जरा, समाजसेवी विदुर थापा, सल्लाहकार भरत कुमार थापा, सीताराम कटुवाललगायतले उक्त कोणसभालाई सम्बोधन गर्दै लागूऔषध दुव्र्यसनमुक्त वडा बनाउनका लागि सबैले एकजुट भएर सशक्त रुपमा अगाडि बढ्नका लागि सामुहिक प्रतिवद्धता गरेको कुरा सरस्वती जब्दी मावि इटहरी १६ का प्रअ.मात्रिका भट्टराईले बताए ।
उक्त समूहले पुस १० गते सचेतनामूलक सडक नाटक प्रस्तुत गरेको थियो । सो नाटकमा बाल कलाकारको प्रस्तुतीले सबैको ध्यान खिच्न सफल भएको थियो । सचेतनामूलक कार्यक्रममा पंक्तिबद्ध भएर उभिएका चौधरी जातिको पोसाकमा सजिएका युवायुवतीहरुका हातहातमा प्लेकार्ड थिए । घरघरबाट प्लेकार्ड लिएर निस्किएका स्थानीयहरुले टोल परिक्रमाका क्रममा लागूऔषध विरुद्धका नारा लगाउनुका साथै नृत्य र झाँकीसमेत प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सञ्चालन समूहकी सचिव कल्पना नेपालले गरेकी थिइन् भने समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं वडा नम्बर १७ का अध्यक्ष प्रभात कुमार आचार्यले लागूऔषध दुव्र्यसन रोकथाम तथा सचेतनामूलक सम्बन्धी विविध कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्रसहित पुरस्कार प्रदान गरेका थिए । इटहरी उपमहानगरपलिकाको सहयोगमा सञ्चालित उक्त कार्यक्रम कौसिकी आमा समूहको आयोजनामा पुस ७ गतेबाट सुरु भई १५ गते समापन भएको थियो ।






0 comment