काठमाडौँ – ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा सहभागी दुईजनाको मृत्यु भएको छ भने १० जनालाई प्रहरीले पक्रेको छ । प्रहरीको गोली लागेपछि उनीहरुको मृत्यु भएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीलाई आन्दोलनकारीहरुले जलाएका छन् । रोजगार अनुमति प्रणाली ९ईपीएस० परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमा आगो लगाएका हुन् ।
प्रदर्शनकारीहरुले बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् । मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो झोसेका थिए । अग्नि नियन्त्रकहरु पुगेर आगो निभाउने प्रयास गरेपनि क्षणभरमै गाडी पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । ढुंगामुढाबाट बा५ख ८७१७ नम्बरको बस पनि क्षतिग्रस्त बनेको छ । अहिले पनि कोटेश्वर–कलंकी सडक अबरुद्ध छ ।
पार्टीको केन्द्रीय समिति बैठकमा भाग लिन गएका मन्त्रीलाई छाडेर फर्किँदै गरेको गाडीमा आगजनी भएको हो । शुक्रबार सिंहदरबारस्थित मन्त्रालयबाट ललितपुरमा जारी केन्द्रीय समिति बैठकमा भाग लिन ज्वाला पुगेका थिए । आफूलाई बैठकस्थलमा छोडेर गाडी सिंहदरबार फर्किनेक्रममा आगजनी भएको ज्वालाले बताए ।
पानी जहाज बनाउने कम्पनीका लागि परीक्षा फर्म भरेका युवाले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने इपिएस कार्यालयले जनाएको थियो । पानी जहाजमा परीक्षा दिएका तर अनुत्तीर्णले फर्म भर्न नपाउने निर्णयविरुद्ध युवाहरु अदालत गएका थिए ।
उत्पादनमुलक तथा कृषि क्षेत्रमा हुने परीक्षामा पनि उनीहरुलाई सहभागी गराउन अदालतले आदेश दिएको थियो । इपीएस कार्यालयले अदालतमा रिट दायर गर्नेलाई मात्रै आवेदन दिन आह्वान गरेको थियो । अरु विद्यार्थीले फर्म भर्न नपाउने स्थिति भएपछि विरोध प्रदर्शन भएको हो ।


0 comment