काठमाडौं – वीपी राजमार्गअन्तरगत सिन्धुलीको सुनकोसी गाउँपालिका–३ बोहोरेटारमा मोटरसाइकललाई ठक्कर दिने अरनिको यातायात सेवा समितिको बसमा स्थानीयले आगजनी गरेका छन् । दुर्घटनामा दुईजनाको मृत्यु भएपछि स्थानीयले बसमा आगजानी गरेका हुन्। बसमा आगो लागेपछि राजमार्गमा सवारी आवागमन प्रभावित भएको हो। आगजनीबाट बस पूर्णरुपमा जलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरन्जीवी दाहालले जानकारी दिए ।

सोमबार बिहान रामेछापको मन्थलीबाट काठमाडौंतर्फ आउँदै गएको अरनिको यातायात सेवा समितिको बागमती प्रदेश ०१–००६ ख ४५९३ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको बा ६० प ३५४५ नम्बरको मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु भएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक खोटाङको तुवाचुङ नगरपालिका–२ का सुशन राई र सोही मोटरसाइकलको पछाडी सवार खोटाङको दिक्तेल नगरपालिका–१० रुपाकोटकी १८ वर्षीय मुनाकला राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता दाहालले जानकारी दिए । 

दुर्घटनापछि बसका चालक मन्थली नगरपालिका १३ रामेछापका २४  वर्षीय रुपेश अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

बसमा आगो लगाइदिएपछि केहीबेर बीपी राजमार्ग अवरुद्ध भएको थियो ।