दिपक श्रेष्ठ,

काठमाडौं –  नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेमतो भएको आरोपमा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत नेपाल बायुसेवा निगममा थप दुईजना अधिकृतलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अरविन्द यादब रहेका छन । त्यस्तै अध्यागमन अधिकृत नरबिर खड्कालाइ पनि पक्राउ गरेको छ ।

काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयले यसअघि वायुसेवा निगममा कार्यरत अधिकृत होमनाथ पोखरेललाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

अपराध अनुसन्धानको प्रहरी टोलिले भिजिट भिसामा विदेश जानेहरूसँग फेला परेका शङ्कास्पद कागजात अनुसन्धान गर्दै जाँदा किर्ते कागजात बनाउने गिरोहको कारखानासम्म पुगेको थियो । पक्राउ परेका वायुसेवा निगमका अधिकृतहरूले सेटिङ्ग मिलाएर भिजिट भिसामा पठाउदै आएका गिरोहसँग मिलेर आर्थिक लाभ लिने गरेको प्रहरीको निष्कर्ष छ ।

प्रहरीले अनुसन्धानको लागि सकासपद देखिएको १५ सय १३ वटा राहदानी नियन्त्रणमा लिएको थियो । जसमध्य १२ सय ६७ वटा सम्बन्धित ब्यक्तिलाइ फिर्ता गरेको छ भने २सय ४७ वटा माथी अनुसन्धान भैरहेको काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सोमेन्द्र सिह राठौरले बताउनु भयो ।

प्रहरीले भिजिट भिसा प्रकरण अनुसन्धानको क्रममा ३२ जनालाइ पक्राउ गरि २१ जना माथि मुद्धा चलाएकोमा ८ जना धरौटीमा रिहा भैसकेका प्रहरीले कानकारी दिएको छ । अनुसन्धानको लागि प्रहरीले ६ वटा ट्राभल्सका ६ जना सन्चालकहरुलाइ पक्राउ गरेको छ ।

त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले सङ्कलन गरेर पठाएको भिसा सहितका कागजातबाट उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान थालेको थियो । सो कागजातबारे अनुसन्धान गर्दा गिरोहले किर्ते कागजात बनाएर पर्यटक भिसा लगाएर सर्वसाधारणलाई विदेश पठाउने गरेको खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सोमेन्द्र सिह राठौरले बताउनु भयो ।

यसअघि प्रहरीले चारजना कन्सल्टेन्सी सञ्चालकसहित १३ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।