सम्सेर कार्की

सिन्धुपाल्चोक – सुनकोसी गाउँपालिका पाँग्रेटार लामुसाघुपारी बनाइएको स्वीमिङपुल खण्डहरुमा परिणत हुँदैछ । सरेस नेपालको पहमा प्रदेश सरकारबाट बजेट बिनियोजन भई निर्माण भएको सो स्विमिङपुल निर्माणमा ठेकेदारले गुणस्तरहिन निर्माण कार्यगरेपछि पुल भग्नावेशेषमा परिणत हुने खतरा देखिएको छ ।

सुरुमा ७ करोड लागतमा निर्माण गरिने भनिएको सो पुल ३ करोड १४ लाखमा टेन्डर भएर ठेकेदारले निर्माण सम्पन्न गरेको हो । स्विमिङ पुल निर्माणमा कमसल कच्चा पदार्थ प्रयोग गरिएकाले अहिले नै पुल चिरा पर्न थालेको छ । स्विमिङ पुल पानी नै नहालेको अहिलेको अवस्थामा चारैतिर चर्किन थालेको छ । यसले ठेकेदारले कमसल काम गरेको प्रष्ट पार्दछ । स्विमिङ पुल यतिबेला वेवारिसे अवस्थामा जस्तै छ । त्यहाँ मानिसले होइन भ्यागुत्ताले पौडिखेलिरहेका छन् । पुल भ्यागुत्ताको लागि खाडी जस्तै बनेको छ । सम्बन्धित पक्षले पुलको हेरचाहा नगर्दा त्यहाँ रहेका मोटरहरु धमाधम चोरि भैरहेका छन् ।

जनताको करबाट बनाइएको पुल जनताले उपभोग गर्न नपाउनु अचम्म छ । कमसल काम गर्ने ठेकेदारलाई सरोकारवाला नियमक पक्षले कालोसुचीमा राख्दै उसबाट क्षतिपुर्ति भराउन जरुरी छ । निर्माणका कार्यहरु ठेक्का लगाउँदा सरोकारवाला पक्ष कमिशनमा फस्ने गरेकाले अधिकांश निर्माणका कामहरु चाहे सडक होस् वा भवन अथवा स्विमिङ पुल कमसल सामाग्रीहरुको प्रयोग गरिएको हुनाले गुणस्तरहिन निर्माण कार्य सम्पन्न हुने गरेको छ । निर्वाचित जनप्रतिनीधिहरु समेत ठेकेदारको आर्थिक प्रलोभनमा पर्ने गरेका कारण ठेकेदारहरुले निर्माणका नाममा जनताका आँखामा छारो हाल्दै आएका छन् । यो स्विमिङ पुलले पनि स्थानिय र प्रदेश सरकार समेत भ्रष्टचारको मिलेमतोबाट बाहिर छैन भन्ने देखाउँछ ।