सम्सेर कार्की,

सिन्धुपाल्चोक - नेपालमा सडक बनाउने कार्य तिब्ररुपमा चलेपनि कतिपय सडक खण्डहरु ठेकेदारको लापारवाहीले अलपत्र पर्ने गरेका छन् । त्यस्तै मध्येमा पर्छ सिन्धुपाल्चोक सागाचोकगढी नगरपालिका नौबिसे चौतारा सडक खण्ड । स्थानियबासीको सुबिधालाई स्थानिय तहको सरकारले समेत वेवास्ता गरिरहेको छ । चुनावका बेला सडक निर्माणको सपना बाड्ने माननीय माधव प्रसाद सापकोटले समेत आफ्नै घरको आँगनको बाटोबाट गएको सडकको हरिबिजोगलाई देखेको नदेखै गरिरहेका छन् । माओबादी नेता तथा पूर्वसभामुख समेतरहेका अग्नि प्रसाद सापकोटाले यस क्षेत्रको लामो समयसम्म प्रतिनिधित्व गरे तर उनले सडक निर्माण गरि स्थानिय जनजिवनलाई सहज बनाउने र स्थानिय उत्पादनलाई राजधानीसम्म बजारीकरण गर्न सहयोग पुर्‍याउने बारे कहिल्यै सोचेनन् । जनतालाई बिकासको लालिपप देखाएर चुनाव जित्ने र जितेपछि आफ्नो क्षेत्र र जनताको बारेमा नसोच्ने कसरी सत्तामा पुग्ने भन्नेमा मात्र नेताहरुको ध्यान केन्द्रित हुने गरेकाले सिन्धुपाल्चोक अहिलेसम्म विकासमा पछिपरेको यथार्थतालाई नकार्न सकिदैन । नेताले त गरेनन् नै स्थानिय तहमा बस्नेहरुले समेत विकास र निर्माणको काममा भन्दा कमाउधन्दा रोजेकाले  यो स्थीति उत्पन्न भएको हो । सम्पुर्ण क्षेत्रको समाबेशीरुपमा विकास होस् भन्ने अभिप्रायले तिनतहका सरकारको निर्माण गरिएको हो । तर तिनै तहका सरकार भ्रष्टचारमा लिप्त भएकाले जनताले आशगरेबमोजिम कहिकतै बिकास र निर्माणका कामहरु पुरा हुन सकेका छैनन् । राजनीति बिशुद्ध जनसेवा हो । जनताका दुःखहरुलाई सम्बोधन गर्नु राजनीतिको उद्देश्य हुनु पर्ने हो । तर जनताको सेवा हैन, आफु र आफन्त अनि आफ्नो दलका मानिसहरुको स्तरोन्ती नै राजनीतिको विशेषता भएका कारण आम नागरिकले दुःख पाईरहेका छन् । गाउँ गाउँमा सिंह दरवार भन्दै तिन तहका सरकार बनेपनि सिंह दरवारको भ्रष्टचार गाउँ पुग्यो तर विकास र समृद्धी भने पुगेको छैन । स्थानिय जनताको पिरमर्का प्रति जननिर्वाचित प्रतिनिधि जिम्मेबा हुनु पर्ने हो । तर यहाँ कुनै पनि तहको नेतृत्व जनताप्रति गैर जिम्मेबारी देखिदा दुर्गम यस क्षेत्रमा जनताले सधै सास्ती खेपीरहनु परेको छ । 

सदरमुकाम चौतार जान छिटो र छरितो हुने र जनताले पैदलयात्रामा दुःख गर्न नपर्ने उद्देश्यले नौविसे चौतारा सडक खण्डको निर्माण शुरु गरिएको हो । नौबिसे चौतार सडक ९ किलोमिटर भित्र ६.५ किलोमिटर पिच नाला पर्खाल लगाउनु पर्ने सम्झौता २०७८ साउन १७ मा भएको थियो । सम्झौता बमोजिम २०७९ साउन १७ मा सो सडक निर्माण कार्य सम्पन्न भैसक्नु पथ्र्यो । तर अहिले सम्म उक्त सडक निर्माणको कार्य १% पनि भएको छैन यदि यो बाटो कालो पत्र हुने हो भने जलविरे, बाह्रविसे, मुडेबाट जाने नागरिकहरुलाई बनदेउबाट सदरमुकाम चौतार जानुभन्दा नौबिसेबाट २१ किलोमिटर नजिक पर्ने थियो । तर पिच गर्ने कार्य कछुवा गतिमा चलेकाले स्थानिय बासीले दुःख झेल्नु परिरहेको छ । धुलाम्मे सडकले यहाँका नागरिकहरुको स्वास्थ्यलाई समेत गम्भिर असर पुर्‍याइरहेको छ । यो सडक कहिले पिच पुरा हुने हो, अहिलेसम्म सम्बन्धित कसैले पनि जवाफ दिएका छैनन् । निर्वाचन जितेर जाने माननिय सापकोटा जिल्ला बिकास समन्वय समिति र स्थानिय तहले अविलम्ब यो सडकलाई पिच बनाएर सिन्धुपाल्चोकको विकास र जनताको स्तरोन्नतीमा ध्यान दिन जरुरी छ ।