काठमाडौं - दुर्गा प्रसाईंका समर्थक र राजावादीले काठमाडौंस्थित सिफलमा प्रदर्शन गरेका छन्। शनिबार दिँउसो सिफलमा भएको प्रदर्शनमा सहभागी हुन प्रसाईं भक्तपुरस्थित निवासबाट प्रहरीको स्कटिङमा आएका हुन्।

प्रदर्शनकारीले हिन्दू राज्य र राजतन्त्रको पक्षमा नारा लगाएका छन्। उनीहरुको प्रदर्शनलाई लक्षित गर्दै उक्त क्षेत्रमा व्यापकरुपमा प्रहरी परिचालन गरिएको छ। 

बिहीबार प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले बल्खुमा प्रदर्शन गरेपछि शुक्रबारबाट तीनकुनेमा प्रदर्शन गर्ने घोषणा गरेको थियो। बल्खुमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेपछि सरकार तीनकुने क्षेत्रमा शुक्रबारको प्रदर्शन रोक्ने प्रयास गरेको थियो। शनिबार पनि उक्त क्षेत्रमा बाक्लो संख्यामा प्रहरी उपस्थित भएपनि सर्वसाधरणलाई धरपकड गरेको छैन। आवातजावत गर्नेहरुमाथि प्रहरीले टाढैबाट निगरानी बढाएको छ।

बिहीबारको प्रदर्शनपछि आन्दोलनका नेतृत्वकर्ता प्रसाईंलाई घरबाहिर निस्कन दिइएको थिएन। उनको घर रहेको ठाउँमा शुक्रबार दिनभर प्रहरीले निगरानी गरेको थियो। प्रसाईंको समूहले शुक्रबार काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्ने भनेर मानिसहरू भेला भएका थिए। प्रहरीले शुक्रबार अनुमतिबिना नाराजुलुस गर्न खोज्ने २६६ जनालाई नियन्त्रणमा लिएको थियो। 

शुक्रबार दिनभर तीनकुने क्षेत्र तथा समग्र राजधानीको सुरक्षा अवस्थामा कडाइ गरिएको थियो। मानिस भेला हुनलाई रोक लगाइएको थियो। सवारीसाधनको चेकजाँचमा कडाइ गरिएको थियो। खाजा खान भेला भएर गफ गर्ने यक्तिहरूसमेत प्रहरीको नजरमा परेका थिए।

अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेकाले सुरक्षाका कारण देखाउँदै जिल्ला प्रशासनले राजावादी समर्थकलाई तीनकुनेमा प्रदर्शन गर्न नदिई सिफलमा दिएको हो। जिल्ला प्रशासनले काठमाडौंका विभिन्न स्थानलाई निषेधित क्षेत्र तोकेर त्यस्ता स्थानमा भेला हुन र प्रदर्शन गर्न प्रतिबन्ध लगाएको छ ।

बिहीवार प्रदर्शनका क्रममा एमाले निकट युवा संघ र दुर्गा प्रसाईंले एकअर्कालाई लक्षित गरी घृणायुक्त अभिव्यक्ति दिएपछी राष्ट्रिय मानवअधिकार आयोगले वक्तव्य जारी गर्दै घृणा फैलाउने अभिव्यक्तिहरू रोक्न आग्रह गरेको थियो।