काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को समूहलाई तीनकुनेमा प्रदर्शन गर्ने अनुमति नदिएको बताएको छ ।
कार्यालयसँग कुनै समन्वय नगरी सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने र शान्ति सुरक्षा तथा अमनचयन बिथोल्ने गरी कार्यक्रम सार्वजनिक गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै कार्यालयले तीनकुनेमा कार्यक्रम गर्न अनुमति प्रदान नगरिएको जनाएको हो ।
महाअभियानले बिहीबार बल्खुमा प्रदर्शन गरेको थियो । उक्त प्रदर्शन पश्चात पत्रकारसम्मेलन गरी प्रसाईंले निषेधित क्षेत्र तोड्ने गरी शुक्रबार तीनकुनेमा प्रदर्शन गर्ने घोषणा गरेका थिए ।
प्रसाईंको समूहले कुनै समन्वयन नगरी कार्यक्रम घोषणा गरेको सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले प्रेस विज्ञप्ति जारी गर्दै बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘सुरक्षा निकायसँग समन्वय गरी कार्यक्रमलाई शान्तिपूर्ण, मर्यादित, अनुशासित एवं व्यवस्थित रूपमा सञ्चालन गर्ने सुनिश्चितता सहित लिखित रूपमा माग भई आएमा आयोजकसँगको समन्वयमा उपयुक्त स्थानमा कार्यक्रमस्थल उपलब्ध गराई सुरक्षा प्रदान गरिने गरेको र आगामी दिनमा समेत सोही बमोजिम हुने ब्यहोरा अवगत गराइन्छ।’
शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी प्रचलित कानून विपरीतका गतिविधि गरेमा कानून बमोजिम कारबाही गरिने प्रशासनको चेतावनी छ ।



0 comment