काठमाडौं – जाजरकोटमा चिसोका कारण थप ३ जना भूकम्पपीडितको मृत्यु भएको छ। हालसम्म चिसोका कारण मृत्यु हुने भूकम्पपीडितको संख्या १० पुगेको छ।
आज ज्यान गुमाउनेहरुमा जाजरकोटको जुनीचाँदे गाउँपालिका–४, लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, छेडागाड नगरपालिका–१३, थानबाडाकी ५६ वर्षीया मनसरी कामी र भेरी नगरपालिका–४, तल्याउनका केशव भडेलको मंसिर २ गते मृत्यु भएको हो।
यसअघि बारेकोट गाउँपालिका–१, रामीडाँडाका डुमे पुन, भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की, बारेकोट गाउँपालिका–४, जिरीका नरेन्द्रबहादुर सिंह, नलगाड नगरपालिका–४ का ८४ वर्षीय गोपालबहादुर रावल, नलगाड–४ की ४८ वर्षीया पम्फा रावल, बारेकोट गाउँपालिका, बयालाका ६० वर्षीय कर्णवीर विक र बारेकोट–६ ताँसीका ५५ वर्षीय वीरबहादुर विकको मृत्यु भइसकेको छ।
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुमपश्चिममा गरी १५४ जनाको मृत्यु भयो भने सयौँ घाइते भएका थिए। भूकम्पले आंशिक र पूर्ण क्षति गरी ३५ हजारभन्दा बढी घर भत्किँदा हजारौँ परिवारको बिजोग भएको छ। यो कठ्यांग्रिँदो जाडोमा उनीहरू एउटा त्रिपाल तथा कम्बलको भरमा खुला चौरमा बस्न बाध्य छन्। भुकम्पका कारण बेघर भएका त्यहाँका स्थानिय बासिन्दाहरु अहिले जाडोको कारण ज्यान गुमाईरहेका छन् ।


0 comment