काठमाडौं - सुदूरपश्चिमको राजधानी धनगढीमा शनिबार बिहान भीषण आगलागी भएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज बिहान १ बजेतिर धनगढीको मुख्य बजारमा रहेको सारथी अस्पताल र त्यससँगै जोडिएका अरु ७ वटा पसलको गोदाममा आगलागी भएको हो। भण्डारी सुज सेन्टरको गोदामबाट सल्किएको आगो अरु पसलका गोदाम हुँदै सँगै जोडिएको सारथी अस्पतालसम्म पुगेको थियो। आगलागीबाट सारथी अस्पतालका स्वास्थ्य उपकरणहरु, अस्पतालको फर्निचर, फार्मेसीमा राखिएका औषधी र अरु उपकरणहरु पूरै जलेका छन्। अस्पतालमा साढे ५ करोडको क्षति भएको अनुमान गरिएको छ।
अस्पतालको आईसीयु र अरु जनरल वार्डमा रहेका ५ जना बिरामीलाई भने आगलागी भएपछी झण्डै डेढ सय मिटरको दुरीमा रहेको सेती प्रादेशीक अस्पतालमा सारिएको थियो। सेती अस्पतालका ईमरजेन्सी वार्डमा भर्ना भएका बिरामी पनि अन्यत्र सारिएका थिए।
सारथी अस्पताल पछि बढी क्षति भण्डारी सुज सेन्टरको गोदाममा भएको छ। गोदाममा रहेका झण्डै साढे ४ करोडका जुत्ता चप्पल जलेर खरानी भएको बताईएको छ।
‘दशैं तिहारका बेला भएकाले सामान धेरै मगाइएको थियो। होलसेलमा जाने सामानको गोदाम पनि त्यही हो। तार सर्ट भएर आगलागी भएको अनुमान गरेका छौं’ सञ्चालक दल बहादुर भण्डारीले भने।
यस्तै आगलागीबाट गोदामसँगै जोडिएका मधुमाला बेबी सोप, भट्ट सपिङ सेन्टर, न्यु सदीक्षा बेबी सप र भट्ट ट्रेडर्सको दोगाममा पनि क्षति भएको छ। नेपाल प्रहरीको मुचुल्का टोली अहिले घटनास्थलमा छ।
प्रहरीले क्षतिको पूर्ण विवरण तयार गर्दैछ। तर प्रारम्भिक रुपमा करिब १७ करोड ९७ लाख २० हजार रुपैयाँ बराबरको क्षतिको अनुमान गरिएको छ। सारथी अस्पताल, खाद्य संस्थानको पुरानो गोदाम भाडामा लिएर सञ्चालनमा थियो। भवनको क्षतिबाहेक मात्रै १३ करोडको क्षति भएको बताइएको छ।
राति १ बजेतिर आगलागी भएकाले बढी क्षति भएको हो। गोदाममा आगो दन्किएपछि मात्रै अस्पतालका कर्मचारीहरुले थाहा पाएका थिए। त्यसपछि उपमहानरको प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको करिब २ सय जनाको टोली आएर आगो निभाएको थियो।
आगो निभाउन धनगढी उपमहानगरका दुई वटा, पुर्नबास नगरपालिका र गोदावरी नगरपालिकाका एक/एक गरी ४ वटा दमकल प्रयोग भएका थिए।


0 comment