काठमाडौं – हरेक वर्ष दशैंको समयमा मूल्य वृद्धिको चर्चा हुने गरेको छ । दशैं, तिहार, छठ जस्ता नेपाली जनताले उत्साहजनक ढंगले मनाउने चाडपर्वका बेला व्यापारीहरूले आफ् नो व्यापार बढाउने अवसरका रुपमा उपयोग गर्ने गरेका छन्। चाडपर्वको बेला साविकभन्दा कयौं गुणा बढी दैनिक उपभोग्य वस्तु, लत्ताकपडा, फलफूल, मिठाइ, मासुजस्ता वस्तुको व्यापार हुने गरेको छ ।
लामो समयदेखि मौकाको पर्खाइमा बस्ने व्यापारीहरूले व्यापार सँगसँगै मूल्य समेत बढाएर उपभोक्तालाई मारमा पार्ने गरेका छन्। मूल्य वृद्धिको अनुपातमा जनताको क्रय शक्ति बढेको छैन । आम्दानीभन्दा बढी मूल्य खर्च गर्नुपर्दा उपभोक्ता ऋणको बोझले थिचिने गरेका छन्। चिनीको मूल्य वृद्धिमा सधैंभरि ठूलो खेल हुने गरेको छ ।
मुलुकभित्र सञ्चालित चिनी मिलहरू सस्तो भारतीय चिनी भित्रिएका कारण आफ् नो उत्पादन गोदाममा थन्क्याउनु परेको बताउँछन्। उता चिनी मिलहरूले किसानसँग उधारोमा लिएको उखुको मूल्य भुक्तानी नदिएका कारण किसानहरू उखु खेतीको विकल्प खोजिरहेका छन्। चिनीमा आत्मनिर्भर हुन सक्ने पर्याप्त सम्भावना भए तापनि पर्दा पछाडिका फोहोरी खेलहरूले गर्दा देशभित्रका चिनी मिलमा ताला लाग्ने अवस्था आएको छ भने विदेशबाट आयातित चिनी महँगो मूल्यमा खरिद गर्नुपर्ने अवस्थामा उपभोक्ता रहेका छन्। चिनीको बर्सेनिको रडाको मेटाउन किसान, उद्योगी र उपभोक्ता सबैको हित हुने गरी राज्यले नीति निर्माण गर्न आवश्यक छ ।
यसैगरी अहिले पेट्रोलियमको समेत मूल्यवृद्धि भएका कारण सवारी भाडा र ढुवानी भाडासमेत वृद्धि भएको छ । ढुवानी भाडाको कारण देखाएर पनि उपभोग्य वस्तुमा मूल्य बढाउने गरिन्छ । खाने तेल, दाल, चामल, पिठो, तरकारी, फलफूलको मूल्य एक्कासी बढेको छ । हरेक दशैंमा मासुको मूल्यवृद्धि हुँदै आएको छ । भान्सामा अनिवार्य उपस्थिति जनाउने आलुको मूल्यले उपभोक्ता तर्साउने काम गरिसकेको छ । राम्रो आलु १९० देखि २०० सम्म प्रतिधार्नी भन्न थालिएको छ । सबै खाले साग र हरियो तरकारीको मूल्य पनि छोइनसक्नु अवस्थामा पुगेको छ । बढ्दो मूल्य नियन्त्रण गर्ने बहानामा विभिन्न समयमा सरकारी अनुगमन टोलीहरू बजार समेत पुग्ने गरेका छन्। तर ती अनुगमन टोलीले एक दुईवटा काम गरेर मिडियाबाजी गराउनुबाहेक मूल्य नियन्त्रणको लागि ठोस काम गर्न सकेका छैनन्। मूल्य नियन्त्रणका लागि सरकारले गतिलो संयन्त्र बनाउन आवश्यक छ ।
त्यसैगरी किसानलाई आफ्ना उत्पादन सहज ढंगले बजारमा पुर्याउन स्थानीय निकायले संयन्त्र बनाएर सहयोग पुर्याउनुपर्छ । स्थानीय निकायको दायित्व जनतालाई कर उठाएर आफूले मोज गर्ने मात्र होइन । जनताका उत्पादनलाई सहज बजारीकरण गर्ने संयन्त्रको निर्माण गरी सहयोग पुर्याउनु पनि हो।
अहिले कतिपय कुखुरा उत्पादक किसानले बजारमा आफैं बिक्री केन्द्र खोलेका कारण कुखुराको मासुको मूल्य तुलनात्मक रुपमा सरल रहेको छ । खसी, बोका उत्पादक किसानहरूलाई पनि समूह मिलाएर मासु पसल खोल्न प्रोत्साहन गर्ने हो भने मासुको मूल्य नियन्त्रणमा सहयोग पुग्न सक्छ । आयातित खाद्यान्न, लत्ताकपडाको मूल्य नियन्त्रण गर्न भन्सारमा तोकिएको मूल्यको आधारमा अनुगमन गरेमा सहज हुनेछ ।
कृत्रिम अभाव खडा गर्न गोदाममा मालवस्तु लुकाउने ठूला व्यापारीका गतिविधिमाथि पनि सरकारले ध्यान दिन जरुरी छ । मूल्य नियन्त्रणका सबै उपाय प्रयोग गरेर सरकारले जनतालाई महँगीको मारबाट जोगाउने दायित्व बहन गर्न सक्नुपर्छ । महानगरले चाडवाडको समयमा होटल तथा रेस्टुराँहरूमा तथा मिठाइ पसलहरूमा प्रयोग गरिने तेल परीक्षण गरी अखाद्य तेल प्रयोग गर्नेमाथि कारबाही प्रक्रिया अघि बढाउने भएको छ । त्यस्तै खाद्य एवं मासुजन्य वस्तुहरूको पनि परीक्षण गरिरहेको छ । यो उपभोक्ताको हितका लागि सकारात्मक पक्ष हो।


0 comment