काठमाडौं - वैदेशिक रोजगारीका लागि एस्टोनिया पठाइदिने भन्दै रकम ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा ३५ वर्षीय राजेश श्रेष्ठ रहेको प्रहरीले जनाएको छ। श्रेष्ठविरुद्ध ५ जना पीडितले प्रहरीमा ठगीको उजुरी दिएका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार श्रेष्ठले पीडित जनक बरालसमेत पाँचजनालाई वैदेशिक रोजगारीका लागि इस्टोनिया पठाइ दिने बहानामा प्रतिव्यक्तिबाट सात लाखका दरले ३४ लाख १३ हजार रुपैयाँ लिएर फरार भएका थिए।

काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचाल पठाइएको प्रहरीले जनाएको छ।