काठमाडौं - सरकारले खेलकुद क्षेत्रको विकासका लागि निर्माणाधीन क्रिकेट रंगशालाहरूलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने निर्णय गरेको छ। 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौंको मूलपानी, चितवनको भरतपुर र मोरङको विराटनगर रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढाउने निर्णय गरेको हो।

पछिल्लो समय क्रिकेटमा नेपालले उल्लेखनीय सफलता हात पारेको भन्दै सरकारले खेलकुद क्षेत्रलाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढाउने निर्णय लिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्। बैठकमा खेलकुद क्षेत्रको बृहत्तर विकासबारे छलफल भएको उनको भनाइ छ।

'क्रिकेटमा नेपालले धेरै फड्को मारेको विषयमा गम्भीररूपमा छलफल भयो। त्यही भएर पनि यस क्षेत्रको विकासका लागि निर्माणाधीन रंगशालाहरूलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने निर्णय सरकारले गरेको हो,' मन्त्री शर्माले भनिन्।

केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय क्रिकेट टोलीलाई नगदसहित सम्मान गर्दै छिट्टै रंगशालाहरूलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने प्रतिवद्धता जनाएका थिए। 

हालै नेपालमा सम्पन्न प्रतियोगितामा नेपाल आइसीसी टी-२० विश्वकपमा छनोट भएको थियो। आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने प्रतियोगितामा नेपाल सहभागी हुनेछ। यसअघि नेपालले क्रिकेटका हस्तीहरू भारत र पाकिस्तानसँग एसिया खेपमा खेलेको थियो।