काठमाडौं - जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितका लागि चीन सरकारले ४० करोडको राहत सामग्री दिएको छ।
चिनियाँ राजदूत छन सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा राहत सामग्री उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरेका हुन्। चिनियाँ जनमुक्ति सेनाको जहाजबाट २८ करोड मूल्य बराबरको राहत सामग्री र केरुङ नाकाहुँदै १० करोड बराबरको राहत सामग्री नेपाल आएको हो।
चिनियाँ दुई कार्गो विमानमार्फत् उक्त सामग्री पोखरा ल्याइएको हो। गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले ४६ सय ब्ल्यांकेट र ६ सय थान पाल चिनियाँ सहयोगस्वरुप पोखरा आएको र बुधबार हस्तान्तरण भएको जानकारी दिए ।
यसअघि पहिलो खेप सहयोग केरुङ नाकामार्फत् आइसकेको उनले बताए । केरुङ नाका हुँदै चिनियाँ सरकारले २३ ट्रक छुट्टै राहत सामाग्री पठाएको हो। जसमा दुई हजार तीन सय टेण्ट, दुई हजार ब्लाङ्केट, सात सय टर्पलिन, पाँच सय वटा महामारी रोक्ने स्पेयर र साँढे १० हजार वटा लामखुट्टे मार्ने औषधि छन्। ती सामग्री जाजरकोट र रुकुम पश्चिम लैजाने सरकारको तयारी छ।
राहत सामग्री बुझेपछि उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ सरकारप्रति कृतज्ञता व्यक्त गरेका थिए। नेपाल र चीन ऐतिहासिक मित्र देश भएको र दुबै मुलुक एकअर्काको दु:खमा साथमा रहेको उपप्रधानमन्त्री श्रेष्ठले बताए।
त्यसक्रममा राजदुत सङले पश्चिम नेपालको भुकम्पका कारण भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै मृतकहरूमा श्रद्धाञ्जली र पीडामा परेका जनतामा समवेदना व्यक्त गरेका थिए। नेपाल र नेपाली जनताको दु:खमा आफ्नो देशको सधैं साथ सहयोग रहने र राष्ट्रपति सि जिन पिङले समेत पत्र पठाएर त्यो संवेदना जाहेर गरेको उनले बताए।
त्यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरुको उद्धार एवम् राहतका लागि घोषणा गरेबमोजिमको एक करोडको चेक हस्तान्तरण गरेको छ ।
प्राधिकरणका महानिर्देशक प्रदीपकुमार अधिकारीलगायत कर्मचारी बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुधबार बिहान उक्त रकम बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि हस्तान्तरण गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले राससलाई जानकारी दिएका छन्।
त्यसैगरी, कर्णाली प्रदेश सरकारले भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानका १६ स्थानीय तहलाई दुई करोड ४५ लाख हस्तान्तरण गरेको छ।
प्रदेश सरकारले जाजरकोटका भेरी र नलगाड नगरपालिका तथा बारेकोट गाउँपालिकालाई २५/२५ लाख, कुशेमा गाउँपालिकालाई २० लाख, छेडागाड नगरपालिकालाई १० लाख, जुनीचाँदे गाउँपालिकालाई १० लाख र शिवालय गाउँपालिकालाई रु पाँच लाख हस्तान्तरण गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए।
त्यसैगरी रुकुम पश्चिमको आठबीसकोट र सानीभेरी नगरपालिकालाई रु २५/२५ लाख, चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिकालाई रु २०/२० लाख, मुसिकोट नगरपालिकालाई १० लाख र बाँफीकोट गाउँपालिकालाई पाँच लाख रकम हस्तान्तरण गरिएको प्रवक्ता जिसीले बताए। उनका अनुसार सल्यानको दार्मा गाउँपालिकालाई १५ लाख तथा बागचौर र बनगाड कुपिण्डे नगरपालिकालाई रु पाँच–पाँच लाख हस्तान्तरण गरिएको छ।
भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानमा राहत सामग्री खरिद, वितरण र उद्धार प्रयोजनका लागि स्थानीय तहलाई रकम उपलब्ध गराइएको मन्त्री जिसीले बताए।
यही कात्तिक १७ गते राति ११:४७ बजे जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडामा केन्द्रबिन्दु बनाएर ६ दशलमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममामा गरी एक सय ५३ जनाको मृत्यु भएको छ। दुई सय बढी घाइते भएका छन् । घाइते तथा स्थानीय पीडितका लागि विभिन्न सरकारी निकाय एवं सङ्घसंस्थाले सहयोग उपलब्ध गराउने क्रम जारी रहेको छ ।
मंगलबार सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले ५० /५० लाख,एकीकृत समाजवादी पार्टीले २५ लाखको चेक प्रधानमन्त्री दाहाललाई बालुवाटार पुगेर हस्तान्तरण गरेका थिए। सरकारले भूकम्पमा परी ज्यान गुमाएकाको परिवारलाई राहतस्वरुप दुई लाख दिने निर्णय गरेको छ।
यसैबिच, भूकम्पपीडितको नाममा राहत भन्दै चन्दा संकलनकर्ताहरू कानुनी फन्दामा पर्न थालेका छन्। एकजना संकलनकर्ताको खाता रोक्का गरिएको छ। अन्य आधादर्जन व्यक्ति निगरानीमा रहेको प्रहरी स्रोतले जनाएको छ। भूकम्प पीडितको उद्धारमा खटिएको प्रहरीले पीडितका नाममा अरुसँग चन्दा, राहत तथा सहयोग संकलनकर्तामाथि पनि निगरानी बढाएको छ। जथाभावि चन्दा, राहत र सहयोग संकलन गरिरहेका आधादर्जन व्यक्तिलाई नोटिस गरे पनि पक्राउ गरेको छैन।


0 comment