काठमाडौं - पोखराको लेकसाइडमा २४ सै घन्टा व्यापार व्यवसाय खोल्न दिन उच्च अदालत पोखराले आदेश दिएको छ। 

कानुन बमोजिम व्यापार, व्यवसाय गर्न रोक नलगाउन मागसहित गरिएको देवीकुमारी बरालको रिट निवेदनमा कायम मुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले बुधबार जिल्ला प्रशासन कार्यालय कास्कीको नाममा उक्त आदेश दिएको हो।

निवेदन माग अनुसारको आदेश जारी हुनु नपर्ने भए आधार, कारण एवं प्रमाणसहित म्याद सूचना भएको मितिले बाटाका म्यादबाहेक १५ दिनभित्र विपक्षीहरुका हकमा उच्च सरकारी वकिल कार्यालय पोखरामार्फत् लिखित जवाफ पेस गर्न विपक्षीहरुका नाममा प्रस्तुत आदेश र निवेदनको प्रतिलिपी समेत साथै राखी म्याद सूचना पठाई लिखित जवाफ परेपछि वा सो को अवधि व्यतित भएपछि नियमानुसार गरी पेस गर्न अदालतको आदेश छ। 

गृह प्रशासन सुधार कार्ययोजना २०७४ को बुँदा नम्बर २५ मा ठमेल, दरबारमार्ग, पोखराको लेक साइड जस्ता पर्यटकको आवागमन बढी हुने क्षेत्रहरुमा २४ घण्टा बजार खुला रहने गरी आवश्यक सुरक्षाको प्रबन्ध गरिने छ भन्ने व्यवस्था भएको निवेदकको दाबी थियो।

निवेदकले निवेदनका साथ पेश गरेको उक्त कार्ययोजना प्रतिलिपिबाट देखिँदा विपक्षीहरुको निवेदन परेको अवस्थामा कानून बमोजिम पुनविचार हुन सक्ने नै हुँदा प्रस्तुत निवेदनको अन्तिम निर्णय नहुन्जेलसम्मका लागि कानुन विपरीतको कार्य भएको अवस्थामा बाहेक प्रस्तुत आदेशको जानकारी विपक्षीहरुलाई दिई नियमानुसार पेश गर्नू भन्ने अदालतको आदेश छ।