काठमाडौं - सरकारले भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा तत्काल पाँच-पाँच करोड रुपैयाँ पठाउने निर्णय गरेको छ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्प प्रभावित क्षेत्रमा तीनवटै सुरक्षा निकाय र विपद् व्यवस्थापनका जनशक्तिहरू खटिएको बताए। शवहरू शनाखतका लागि विशेष टोलीसमेत प्रभावित क्षेत्रमा पठाइएको गृहमन्त्री श्रेष्ठको भनाइ छ।

त्यस्तै स्वास्थ्यका निम्ति चिकित्सकहरूसहित स्वास्थ्य सामग्री र औषधिसमेत प्रभावित क्षेत्रमा पठाइएको बताए। आवश्यक मेडिलकल सामग्री स्वास्थ्य मन्त्रालयले तत्काल व्यवस्था गर्ने निर्णयसमेत भएको उनले बताए।

त्यस्तै घाइतेको उद्धार गरी सुर्खेत र नेपालगन्जलाई बेस बनाएर उपचार प्रक्रिया अगाडि बढाइएको उनले बताए। उनले सुर्खेत र बाँकेमा आवश्यक जनशक्ति र व्यवस्थापनका आधारहरू निर्माण भएको बताए। 

गए राती जाजरकोट केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम) लगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय र भौतिक क्षति हुनुका साथै सयौं घाइते भएका छन् । 

नेपाल प्रहरीका अनुसार जाजरकोटमा १०० जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ भने १६६ जना घाइते भएका छन् । जसमध्ये जाजरकोटमा ८१ जना र रुकुमपश्चिममा ८५ जना रहेका छन् ।

घाइतेहरुको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार सुरु गरिएको छ। भेरी अस्पताल नेपालगन्जमा जाजरकोट र रुकुमका १९ जना घाइतेको उपचार भइरहेको हो। हेलिकोप्टरबाट ल्याएका बिरामीको भेरी अस्पतालको आपतकालीन कक्षमा राखेर उपचार भइरहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जाजरकोट र रुकुममा भूकम्पमा परेर घाइते भएकाहरुको उपचार सरकारले निःशुल्क गर्ने बताएका  स्वास्थ्यमन्त्री बस्नेतले घाइतेहरुको उपचारका लागि स्वास्थ्यकर्मीहरुको टोली घटनास्थल पठाइसकिएको जानकारी दिँदै आवश्यकताअनुसार थप उपचारका लागि औषधिसहित चिकित्सकको टोली तयारी अवस्थामा राखिएको जानकारी पनि दिए। 

भूकम्प र यसको क्षतिबारे समाचार सार्वजनिक भएसँगै बिभिन्न क्षेत्रबाट भूकम्पपिडितका नाममा सहयोग घोषणा हुन थालेको छ । 

बागमती प्रदेश सरकारले भूकम्प पीडितको तत्काल प्रभावकारी उद्धार, उपचार, राहत र पुनःस्थापनाका लागि एक करोड ५० लाख सहयोग उपलब्ध गराउने भएको छ। प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले आज विज्ञप्ति जारी गर्दै नागरिक समाज, विभिन्न गैरसरकारी संस्थालाई विपद्को घडीमा आवश्यक सहयोग गर्नसमेत आग्रह गरेका छन्। 

त्यसैगरी, सुदूरपश्चिम प्रदेश सरकारले भूकम्प प्रभावित कर्णालीका पीडितका लागि एक करोड रकम दिने भएको छ । शनिबार बिहान बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।

त्यसैगरी, भूकम्प पीडितको राहत तथा पुर्नस्थापनाका लागि कोसी प्रदेश सरकारले एक कराेड रुपैयाँ उपलब्ध गराउने भएको छ। विराटनगरमा शनिबार बसेको मन्त्रिपरिषद् बैठकले नगदसँगै एक ट्रक ब्लाङ्केट, त्रिपाल र म्याट्रेस जस्ता राहत सामग्री पनि पठाउने निर्णय गरेको छ।

त्यसैगरी, लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि डेढ करोड सहयोग गर्ने भएको छ।  तुलसीपुरमा बसेको प्रदेश सरकारको बैठकले डेढ करोड सहयोग गर्ने निर्णय गरेको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिए। प्रदेश सरकारले गृहमन्त्री सन्तोष पाण्डेको नेतृत्वमा प्रभावित जिल्लामा आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री पठाउने निर्णयसमेत गरेको छ। 

त्यस्तै, नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्रमा निशुल्क भ्वाइस र नमस्ते वाइफाइ सेवा उपलब्ध गराउने भएको छ। भूकम्प प्रभावित रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवाहरु सुचारु रहेको जानकारी गराउँदै टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए। उनले ५ दिनका लागि उक्त क्षेत्रमा निशुल्क भ्वाइस र एसएमसस सेवा उपलब्ध गराइने बताए।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूकम्प प्रभावित जिल्लाका स्थानीय तहका कर्मचारीलाई बिदामा नबस्न निर्देशन दिएको छ। सामान्य प्रशासन मन्त्रालयले विज्ञप्ति जारी गर्दै स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीहरु बिदामा भएमा यथाशिघ्र आफ्नो कार्यालयमा हाजिर भई कामकाजमा खटिनुहुन र तत्काल बिदामा नरहन हुन समेत निर्देशन दिएको हो।

त्यस्तै, नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी टि-२० विश्वकप २०२४ को एसिया छनोटको फाइनल खेलको टिकट बिक्रिबाट प्राप्त ५० प्रतिशत रकम भूकम्प पीडितलाई दिने घोषणा गरेको छ। शनिबार क्यानले जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्प परी मृत्यु भएका तथा घाइते परिवारलाई ५० प्रतिशत रकम दिने जानकारी दिएको हो।

नेपाली कांग्रेसले आज एक विज्ञप्ती जारी गर्दै भूकम्प प्रभावितलाई प्रदान गर्न सरकारी कोषमा पचास लाख दिने घोषणा गरेको छ।

यसैबिच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भूकम्पबाट भएको क्षतिप्रति दु:ख व्यक्त गरेका छन्।

प्रधानमन्त्री मोदीले नेपाली जनतामा परेको दुखमा भारत साथमा रहेको जनाएका छन्। सामाजिक सञ्जाल ट्विटरमार्फत दु:ख व्यक्त गर्दै आफूहरुले भूकम्प पीडितको लागि हरसम्भव सहयोग गर्न तयार रहेको बताए।

उनले भूकम्पमा परी मृत्यु हुनेहरुप्रति श्रद्धाञ्जली दिएका छन्। साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।