काठमाडौं - जाजरकोट केन्द्रबिन्दु भएर गए राति गएको ६.४ रेक्टरको भूकम्पमा परी जाजरकोट र रुकुममा गरी हालसम्म १ सय २८ जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ९२ जनाको मृत्यु भएको पुष्टि भएको छ।
त्यस्तै छिमेकी जिल्ला रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ। प्रहरीका अनुसार रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ। जाजरकोटसँग जोडिएका आठबीसकोट नगरपालिकामा ३६ जना र सानीभेरी गाउँपालिकामा ८ जनाको मृत्यु भएको हो।
नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको सयुक्त टोली दुबै जिल्लामा उद्धारमा खटिएको छ। भूकम्पका कारण मध्यपहाडी लोकमार्गको कालेखोलामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ।
जाजरकोट र रुकुम पश्चिमका ग्रामीण क्षेत्रबाट घाइतेहरुको उद्धार गर्न हेलिकप्टका लागि सम्बन्धित निकायमा पहल भइरहेको छ।
प्रहरीका अनुसार आठबीसकोट नगरपालिकाको वडा नम्बर ११, १२, १३ र १४ मा र सानीभेरी–२ मा ठूलो मानवीय क्षति भएको छ । तत्कालका लागि मानिसको उद्धारमा ध्यान दिएकाले भौतिक संरचनामा पुगेको क्षतिको विवरण त्यसपछि मात्रै सङ्कलन गरिने प्रहरीको भनाई छ।
जिल्लामा भूकम्पले ठूलोरुपमा भौति क्षति गरेको छ। हालसम्म सदरमुकाममा १०० र बाहिर २ हजार भौतिक संरचनामा ध्वस्त भएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले जाजरकोट केन्द्रविन्दु भएर लगातार ५ वटा भूकम्प गएको जनाएको छ। केन्द्रका अनुसार गए राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोट केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गएको हो। त्यसपश्चात लगातार ४ वटा भूकम्पको पराकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ४:१६ बजेमा ४.६ रेक्टर स्केल, १२:३५ बजेमा ४.३ रेक्टर स्केल, १२:२९ बजेमा ४.२ रेक्टर स्केल, १२:०८ बजेमा ४.५ रेक्टर स्केलका भूकम्प गएका हुन्। ४ रेक्टरभन्दा मुनिका भूकम्पका पराकम्प गएपनि त्यसको रेकर्ड भने सार्वजनिक छैन।
यसैबिच, कर्णाली प्रदेशको मन्त्रिपरिषद्को आकस्मिक बैठक बसिरहेको छ। भूकम्पबाट प्रभावित जाजरकोट र रुकुमपश्चिम क्षेत्र लक्षित आवश्यक निर्णय गर्न प्रदेश मन्त्रीपरिषदको आकस्मिक बैठक बसेको हो ।
भूकम्पप्रभावित क्षेत्रको विषयमा निर्णय गर्न शनिबार बिहान मन्त्रिपरिषदको आकस्मिक बैठक बसेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसिले बताए । उनका अनुसार बैठक बसिरहेको छ । बैठक पछि प्रदेश सरकारका मुख्यमन्त्रीसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा स्थलगत जानेछ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड' स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेका छन्। भूकम्प प्रभावितको उद्धार, खोज तथा राहतका लागि प्रधानमन्त्री आफैँ नेपाली सेनाको १६ जनाको मेडिकल टिम र आवश्यक सामग्रीसहित प्रभावित क्षेत्रका लागि जानुभएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए
उद्धार र राहतमा समन्वयका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र पूर्वअर्थमन्त्री जनार्दन शर्मासमेत प्रभावित क्षेत्रमा गएका छन्।
भूकम्पमा परेर जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु भएको छ।
भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली लगायत सबै दलका शिर्ष नेताहरुले सरकार र आफ्ना कार्यकर्तालाई आग्रह गरेका छन् ।


0 comment