काठमाडौं – सर्वोच्च अदालतले नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा जन्मकैदको सजाय पाएका योगराज ढकाललाई आममाफी दिने राष्ट्रपतिको निर्णय बदर गरेको छ।

सर्वोच्च अदालतले बिहीबार पत्रकार सम्मेलन गरेर कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरू सपना प्रधान मल्ल र डा. कुमार चुडालको पूर्ण इजलासले रिगललाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णय बदर गरिदिएको जानकारी गराएको हो। सर्वोच्चले रिगललाई तत्काल पक्राउ गर्न परमादेश जारी गरेको छ। रिगललाई आममाफी दिने निर्णयविरुद्धको मुद्दामा बुधबार बहस सकिएपनि निर्णय आज सुनाएको हो।

सर्वोच्चले चेतन मानन्धर हत्याको मुद्दा हाल सर्वोच्च अदालतमा पुनरावेदनकै क्रममा रहेकाले यसमा कैद छुट तथा मिनाहा दिन नमिल्ने भनेको छ । त्यस्तै रिगलको कैद मिनाहा गर्नुको उचित कारण पनि सरकारले उल्लेख नगरेको सर्वोच्चको ठहर छ ।

रिगलले खुकुरी प्रहार गरी २०७२ साल असार २९ गते २९ वर्षीय चेतन मानन्धरको हत्या गरेका थिए। त्यसपछि कर्तव्य ज्यान मुद्दामा गुण्डा नाइके रिगललाई बाँके जिल्ला अदालतले २०७५ वैशाखमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो।

सर्वोच्चले रिगलले ११ वर्ष, ११ महिना ५ दिन कैद भुक्तान गर्नुपर्ने देखिएको भन्दै त्यति कैद असुल्न पनि आदेश दिएको छ ।

राष्ट्रपतिको सोही निर्णयविरुद्ध चेतन मानन्धरकी पत्नी भारती शेर्पा मानन्धरले रिगललाई फेरि कारागार पठाउन माग गर्दै सर्वोच्चमा रिट दिएकी थिइन्।