काठमाडौं – सोमबार दिउँसो दुई वटा मोटरसाइकल चढेर आएका चारजनाको समूहले गोली हानी मृत्यु भएका प्रिन्सिपल रुपेश सर्राफको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक महिलासहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले सर्राफको प्रेमिका भनिएकी ती महिलासहित ६ जनालाई पक्राउ गरेपछि थप रहस्य खुलेको हो । मृतक बाराको कलैयास्थित बाल एकता इङ्गलिस बोर्डिङ स्कुलका संचालक थिए ।
पक्राउ पर्ने महिला उनकै विद्यालयमा काम गर्ने पूर्वशिक्षिकासमेत रहेको प्रहरी स्रोतले जनाएको छ । सर्राफ हाल पक्राउ परेकी महिलासँग लामो समयदेखि गहिरो प्रेममा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सुरेश काफ्ले जानकारी दिए । विवाहित सर्राफको श्रीमती, एक छोरा र एक छोरी छन् । ‘ हाल पक्राउ परेका आरोपीहरूको बयान अनुसार सर्राफ लामो समयदेखि ती महिलासँग गहिरो सम्बन्धमा रहेको देखियो, यही सम्बन्धमा खटपट सुरु भएपछि सर्राफको हत्या योजना बुनेको देखिन्छ’ एसपी काफ्लेले भने ।
यसअघि एक होटेलमा सर्राफको हत्या गर्न खोजिएको थियो तर उनी उम्कन सफल भएका थिए । त्यतिबेला सर्राफले कसैलाई पनि कुनै जानकारी नगराएको र उनले आफ्नो प्रेमसम्बन्धको बारेमा आफ्नो परिवारमा समेत थाहा नदिएको अध्ययनमा खुलेको छ ।
सर्राफसँग प्रेममा रहेकी महिलाको अर्को एक पुरुषसँग पनि सम्बन्ध रहेको र ती पुरुषले पटक पटक सर्राफलाई प्रेमिकासँगको सम्बन्ध तोड्न चेतावनी दिँदै आएका थिए । सर्राफले सम्बन्ध तोड्न नमानेपछि हत्याको योजना बुनेको प्रहरीले जनाएको छ ।


0 comment