काठमाडौं – अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका बाराका प्रधानाध्यापक रुपेश सरार्फ (गुड्डु) को मृत्यु भएको छ । गोली लागेर घाइते भएका प्रधानाध्यापकको उपचारको क्रममा वीरगञ्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिनुभयो । 

सोमबार दिउँसो करिब १ बजेतिर प्रधानाध्यापक सराफमाथि गोली प्रहार भएको थियो। २ वटा मोटरसाईकलमा आएका ४ जनाको समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। मृतक सरार्फ बाराको कलैया उपमहानगरपालिका – ६ मदरसा टोलस्थित बाल एकता बोर्डिङ स्कुलका सञ्चालक हुन्।

उनको छाती र पेटमा दुईवटा गोली लागेको थियो। घाइते सराफलाई सुरूमा कलैयाकै प्रादेशिक अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि वीरगन्जस्थित नेपाल मेडिसिटी वयोद्धा हस्पिटल ल्याइएको थियो।