काठमाडौं – भारतीय वैज्ञानिकहरुले पुरुषका लागि पनि सुई बनेको खुलाएका छन् । बढ्दो जनसंख्या नियन्त्रण गर्नका लागि इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) ले पुरुषका लागि गर्भनिरोधक सुई बनाएको छ । सात वर्षसम्मको अनुसन्धानपछि आईसीएमआरको सो सुईको क्लिनिकल परीक्षण पूरा भएको छ भने प्रयोगको अनुमतिसमेत पाएको छ । 

“रिभर्सिबल इनहिबिशन अफ स्पर्म अन्डर गाइडेन्स” नाम दिइएको यो सुईको कुनै साइड इफेक्ट नभएको र धेरै प्रभावकारी भएको दाबी पनि गरेको छ । सुई आविष्कारमा संलग्न वैज्ञानिक डा. आर एस शर्माका अनुसार यो सुई एक पटक लगाएको खण्डमा १५ वर्षसम्म बच्चा हुँदैन । उनीहरुले पहिलोपटक यस्तो सुई बनाएको दाबी पनि गरेका छन् ।

यसको तेस्रो क्लिनिकल परीक्षणको नतिजा गत महिना मात्र एन्ड्रोलोजी जर्नलमा प्रकाशित भएको थियो । यो इन्जेक्सनले स्वीकृति प्राप्त गर्नु अघि तीन चरणको परीक्षणहरू पार गर्नुपरेको थियो । 

यस परीक्षणमा भारतका दिल्ली, उधमपुर, लुधियाना, जयपुर र खड़गपुरका मानिसहरूलाई समावेश गरिएको थियो । यस परीक्षणमा २५ देखि ४० वर्ष उमेरका ३ सय ३ स्वस्थ, यौन सक्रिय विवाहित पुरुष र उनीहरूका यौन सक्रिय पत्नीलाई पनि समावेश गरिएको थियो ।