काठमाडौं - इलाका प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रमुख सुन्दर तिवारीमाथि चक्कु प्रहार भएको छ ।

कोहलपुर–२ दीपनगरका कुशल थापाले आफ्नै २० दिनको नवजात छोरालाई बन्धक बनाएर मार्ने धम्की दिने क्रममा उद्धारका लागि खटिएका प्रनाउ तिवारीमाथि थापाले चक्कु प्रहार गरेका थिए। चक्कु लागेपछि तिवारी घाइते भएका छन् ।

थापाले छोरालाई आफ्नै घरमा बन्धक बनाएर परिवारका अन्य सदस्यलाई बाहिर राखी भित्रबाट चुकुल लगाएर मार्ने धम्की दिएका थिए । सो सूचना पाएपछि उद्धारका लागि गएको प्रहरी टोलीमाथि थापाले चक्कु प्रहार गर्दा तिवारीलाई लागेको थियो ।

चक्कुको झटारोबाट प्रनाउ तिवारीको दाहिने हातको कुहिनामा चोट लागेको प्रहरी प्रवक्ता डाँगीले राससलाई बताए। तिवारीले थापालाई झ्याल बाहिरबाट लामो समयसम्म सम्झाउने प्रयास गर्दा पनि नमानेपछि तिवारीमाथि नै चक्कु प्रहार गरेका थिए । 

त्यसपछि प्रहरी टोलीले ढोका फोडेर थापालाई नियन्त्रणमा लिएको थियो । बिहीबार राति करिब ११ बजेदेखि थापाले छोरालाई बन्धक बनाएर मार्ने धम्की दिँदै गर्दा परिवार र आफन्तले उद्धारका लागि प्रहरीलाई खबर गरेका थिए ।

थापाको मानसिक सन्तुलन नभएको बताईएको छ।